आगामी निर्वाचनमा एक्लै चुनाव लड्छौँ : अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा आफ्नो पार्टी एक्लै चुनाव लड्ने बताएका छन् । भक्तपुरको सूर्यविनायकमा माओवादी केन्द्र भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको राजनीतिक प्रशिक्षणमा अध्यक्ष दाहालले जनताको बलमा चुनावमा जाने बताए ।
विसं २०६४ को निर्वाचनमा आफ्नै मुद्दाको बलमा विजयी भएको स्मरण गर्दै उनले भने, “आगामी दिनमा माओवादी केन्द्रले कांग्रेस र एमालेसँग समिकरण गर्दैन, आफ्नै खुट्टामा उभिएर निर्वाचन लड्छौँ ।”
पार्टी भित्र गुटबन्दी, अराजकतावादी तथा व्यक्तिवादी आत्मकेन्द्रित हुने प्रक्रिया बढेकाले पार्टीमा सङ्गठनात्मक गतिविधि जुन गतिमा अगाडि बढ्नुपर्ने हो त्यो नबढेको अध्यक्ष दाहालको भनाइ थियो । पार्टीका गतिबिधी गतिशिल बनाएर अगाडि बढ्दै यथास्थितिलाई तोडेर नयाँ यथार्ततिर र नयाँ प्रक्रियातिर जाने संकल्प लिएको बताए ।
लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको बताउदै माओवादी र जनताको समाजवादी गणतन्त्रबीचका ठूलो वैचारिक संघर्षको फाइदा उठाएर राजावादीहरुले राजतन्त्र फर्काउन सकिन्छ की भनेर प्रयास गरिरहेको बताए ।
उनले भने, “राजावादीहरुसँग भन्दा पनि हाम्रो लडाईं अहिलेको यथास्थितिवादी, दलाल पुँजीपति वर्ग, नोकरशाही पुँजीपति वर्ग र विचौलियाहरुसंग हो । हाम्रो वैचारिक संघर्षबाट फाइदा उठाएर राजावादी तत्वहरुले पनि यही बेला राजतन्त्र फर्काउन सकिन्छ की भनेर धमिलो पानीमा माछा मार्न खोजिरहेका छन् ।”
कार्यक्रममा पार्टीका जिल्ला सदस्य, बिभिन्न भातृ संगठनका प्रदाधिकारी प्रतिनिधिहरु र अन्य व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया दिनुहोस