गणतन्त्र जोगाउन फेरि ठूलो आन्दोलनको तयारी गर्नुहोस् - प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र संकटमा परिरहेको भन्दै श्रमिक वर्गलाई नयाँ आन्दोलनको तयारीमा जुट्न आह्वान गरेका छन् ।
१३६औं अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै दाहालले गणतन्त्र उल्टाउने गम्भीर षड्यन्त्रहरू भइइरहेको दाबी गरे । “हामीलाई फेरि एकपटक तागत र शक्ति चाहिएको छ,” उनले भने, “मजदुर साथीहरू, राम्रो तयारीमा जुट्नुस्, छिट्टै ठूलो आन्दोलनको खाँचो पर्छ ।”
दाहालले गणतन्त्र स्थापना श्रमिक वर्गको बलिदानको उपलब्धि भएको उल्लेख गर्दै यो व्यवस्थालाई उल्ट्याउने प्रयासहरू भइरहेको भन्दै त्यसविरुद्ध सबै क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध हुन आग्रह गरे। “क्रान्तिकारीहरूको काँधमा अब ठूलो जिम्मेवारी आएको छ,” उनले भने ।
उनका अनुसार वर्तमान सत्ता व्यवस्थाको स्थायित्वभन्दा बढी आवश्यक कुरा सामाजिक न्याय, सुशासन र नेपाली मौलिकतासहितको समाजवादतर्फको यात्रा हो। “आर्थिक समृद्धिसहितको समाजवाद नै श्रमजीवी नेपाली जनताको पहिचान हो,” दाहालले स्पष्ट पारेका थिए ।
कार्यक्रममा उनले अमेरिकाको शिकागोमा आठ घण्टा कार्य समयको मागसहित भएको ऐतिहासिक आन्दोलनको स्मरण गर्दै विश्वका सम्पूर्ण श्रमिकहरूप्रति ऐक्यबद्धता जनाए।
त्यसै अवसरमा दाहालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीलाई नेपालको राजनीतिक स्थायित्वका लागि अनिवार्य ठहर गरे।
गणतन्त्र र श्रमिक अधिकारको रक्षाका लागि सबैलाई एकजुट हुन अपिल गर्दै उनले पुनः संघर्षको तयारीका संकेत दिएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस