सगरमाथाको चुचुरोमा अनेरास्ववियुको झन्डा
अनेरास्ववियुको झन्डा फहराउने यो कार्यलाई संगठनले ऐतिहासिक सफलता मानेको छ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा अनेरास्ववियुको झन्डा फहराइएको छ । नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को झन्डा सगरमाथा (८८४८.८६ मि) को टुप्पोमा फहराइएको हो ।
अनेरास्ववियुका अध्यक्ष समिक बडालले आज सामाजिक सञ्जाल फेसबुकमार्फत् यो जानकारी सार्वजनिक गरेका हुन्। उनले लेखेका छन्, “विश्वको सर्वोच्च शिखर सगरमाथामा अनेरास्ववियु २४औं राष्ट्रिय महाधिवेशनको लोगो र झन्डा फहरिनु हाम्रो साझा गौरवको क्षण हो । यो केवल झन्डा होइन, यो हो हाम्रो प्रतिबद्धता, साहस र संघर्षको प्रतिक हो”
सगरमाथाको चुचुरोमा झन्डा फहराउने यो कार्यमा विश्वप्रसिद्ध हिमाल आरोही मिङ्गमा डेभिड शेर्पाको विशेष योगदान रहेको उल्लेख गर्दै बडालले आभार प्रकट गरेका छन् । उनले शेर्पाको योगदानबापत गहिरो सम्मान र कृतज्ञता व्यक्त गरेका छन् ।
उनका अनुसार यो अभियान जलवायु परिवर्तनबारे चेतना फैलाउने उद्देश्यले गरिएको हो । बडालले भनेका छन्, “जलवायु परिवर्तनको प्रभावबारे चेतना फैलाउने र यसको रोकथामका लागि विद्यार्थीहरूको संगठन अनेरास्ववियु दृढ छ । हामी आवाज उठाउनेछौं, नेतृत्व गर्नेछौं, र भविष्यको लागि समाधानको बाटो देखाउनेछौँ ।”
सगरमाथाको चुचुरोमा विभिन्न सामाजिक, वातावरणीय तथा राजनीतिक सन्देशहरू बोकेर झन्डा फहराउने क्रम पछिल्लो समय बढ्दो छ। अनेरास्ववियुको झन्डा फहराउने यो कार्यलाई संगठनले ऐतिहासिक सफलता मानेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस