पोखरा विमानस्थल निर्माणमा १० अर्बभन्दा बढीको भ्रष्टाचार: सांसद प्रेमबहादुर आले

नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेमबहादुर आलेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा १० अर्ब रुपैयाँभन्दा बढीको भ्रष्टाचार भएको गम्भीर आरोप लगाएका छन् । बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा उनले यो विषय उठाएका हुन् ।
सांसद आलेले पोखरा विमानस्थलको निर्माण खर्च १४५ मिलियन अमेरिकी डलरबाट रातारात २१६ मिलियन डलरसम्म पुर्याइएको दाबी गर्दै ७१ मिलियन डलरको स्पष्ट भ्रष्टाचार भएको बताएका छन् । उनले भने, "हामीले फ्लाइट प्रोसिडर डिजाइन माग्दा २०२२ नोभेम्बरको मात्रै प्राप्त भएको छ । २०१७ को डिजाइन डिजीले घरमै राखेको हो कि भन्ने अवस्था छ ।"
उनले अर्थ मन्त्रालयबाट ट्याक्सीसम्बन्धी आवश्यक कागजातसमेत नपाएको गुनासो गरे। यस सन्दर्भमा सार्वजनिक लेखा समितिको प्रभावकारितामाथि प्रश्न उठाउँदै उनले भने, "कतै हाम्रो समिति धेरै कमजोर त भएन ? यति बलियो सार्वजनिक लेखा समिति किन दिनदिनै कमजोर हुँदैछ ?"
सांसद आलेले ठेक्का प्रक्रियाको कानुनी रूपमाथि समेत प्रश्न उठाउँदै भने, "गाउँपालिकाले ५० लाखको बजेट परदेशबाट ल्याउँदा पनि सार्वजनिक खरिद ऐन अनुसार ठेक्का प्रक्रियामा जानुपर्छ । तर यहाँ १० अर्बभन्दा बढी रकम वार्ताद्वारा खर्च गरिएको छ ।"
उनले भ्रष्टाचारको सुरुवात पोखरा विमानस्थलमा भएको देखाउँदै भने, "पोखरामा ट्रेलर देखिएको छ, अब फिल्म भैरहवामा हेर्नुपर्नेछ।"
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया र बजेट खर्चका विषयमा विभिन्न समयदेखि प्रश्न उठ्दै आएका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस