सगरमाथा यात्रा ‘सेमिफाइनल’मै टुंगियो - महामन्त्री विश्वप्रकाश शर्मा
“सगरमाथा त्यहीँ छँदैछ, म यहीँ छँदैछु। तपाईंहरूको शुभेच्छा पाउनेछु नै, अनि समय फेरि आउनेछ नै!”

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सगरमाथा आरोहणको आफ्नो प्रयास यसपालि अधुरो भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन् । फेसबुकमा पोष्ट गर्दै उनले खराब मौसमका कारण अन्तिम समयमा आरोहण रोकिएको उल्लेख गरेका छन् ।
“सगरमाथा बेसक्याम्पसम्म भनेर गएको मान्छे, ट्रेनिङले ऊर्जा दिएपछि काठमाडौं सम्पर्क गरेर अनुमति पत्र मगाएँ, खुम्बु आइसफल पार गर्दै क्याम्प १ र २ मा बास बस्दै क्याम्प ३ नजिक पुगें,” शर्माले लेखेका छन्, “तर मौसमले अन्तिम पाइला अघि बढ्न दिएन।”
महामन्त्री शर्माले यसपालिको सगरमाथा यात्रा ‘सेमिफाइनल’मै टुंगिएको भन्दै प्राप्त अनुभवप्रति सन्तोष व्यक्त गरेका छन् । उनका अनुसार सुरुमा मे २४ मा निर्धारित चढाइ पनि खराब मौसमका कारण मे २९ सम्म सारिएको थियो । तर, मौसमविद्ले त्यतिबेला झनै खराब मौसमको पूर्वानुमान गरेपछि आरोहण टोलिले फर्किने निर्णय गरेको हो ।
शर्मा बैशाख २७ मा सगरमाथा बेसक्याम्प पुगेका थिए । त्यहाँबाट छोटो अवधि प्रशिक्षण लिएर खुम्बु आइसफल पार गर्दै क्याम्प १, क्याम्प २ हुँदै क्याम्प ३ (७२०० मिटर) नजिक पुगेका थिए।
उनले यसअघि मंसिर २८ मा ६,१४५ मिटर अग्लो लोबुचे हिमाल सफलतापूर्वक आरोहण गरेका थिए । उनले लेखेका छन्, “यसपालिको उपलब्धि त्यो भन्दा माथि हो, सगरमाथा चुचुरो नपुगे पनि।”
आफ्नो असफलताप्रति निराश नदेखिएका शर्माले लेखेका छन्, “सगरमाथा त्यहीँ छँदैछ, म यहीँ छँदैछु। तपाईंहरूको शुभेच्छा पाउनेछु नै, अनि समय फेरि आउनेछ नै!”
तपाईको प्रतिक्रिया दिनुहोस