गृहमन्त्री लेखकको राजीनामा विवादले कांग्रेस पदाधिकारी बैठक तरंगित
उनले भने, "पार्टीलाई अप्ठ्यारो पारेर बसिरहन सक्दिन, संसद्को दबाबमा होइन, पार्टीले भने अब राजीनामा दिन तयार छु ।"

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई जोडेर कांग्रेस नेता शेखर कोइराला र दुई सांसदले सार्वजनिक रूपमा राजीनामा मागेपछि सोमबार बसेको नेपाली कांग्रेस पदाधिकारी बैठकमा चर्काचर्की भएको छ ।
बैठकको सुरुवातमै गृहमन्त्री लेखकले आफूलाई कर्मचारीमाथिको अनुसन्धानमा जोडेर राजीनामा मागिएकोप्रति गुनासो गरेका थिए । उनले पार्टीले चाहेको खण्डमा जुनसुकै बेला पद छाड्न तयार रहेको भन्दै स्पष्ट प्रतिबद्धता जनाए । उनले भने, "पार्टीलाई अप्ठ्यारो पारेर बसिरहन सक्दिन, संसद्को दबाबमा होइन, पार्टीले भने अब राजीनामा दिन तयार छु ।"
लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता पुष्टि भए राजनीतिक जीवनै त्याग्ने उद्घोषसमेत दोहोर्याए। तर, उनले आफू निर्दोष रहेको जिकिर गर्दै आरोपहरू सुनियोजित षडयन्त्र भएको आरोप लगाए ।
बैठकमा सहभागी अधिकांश पदाधिकारीहरू भने नेता शेखर कोइरालाको आलोचनामा उत्रिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृहमन्त्री मातहतका एक सहसचिवमाथि अनुसन्धान गरिरहेको अवस्थामा मन्त्रीको राजीनामा माग्नु अराजनीतिक र अनुशासनहीन भएको उनीहरूको धारणा थियो ।
पूर्व महामन्त्री शशांक कोइरालाले त शेखरसहित गृहमन्त्रीको राजीनामा माग्ने सांसदहरूसँग पार्टीले स्पष्टीकरण माग्नुपर्ने बताएका थिए। “उहाँ (गृहमन्त्री) निर्दोष हुनुहुन्छ भन्ने स्पष्ट छ । यसमा बेबिनियादी आरोप लगाएर पार्टीमा अनावश्यक अशान्ति ल्याइएको छ,” कोइरालाले भने ।
उपसभापति पूर्णबहादुर खड्काले मन्त्रीसँग प्रत्यक्ष सम्बन्ध नभएको विषयमा राजीनामा माग्नु गम्भीर अनुशासनहीनता भएको बताएका थिए । सभापति शेरबहादुर देउवाले समेत शेखर कोइरालाको व्यवहारप्रति असन्तुष्टि जनाउँदै “भित्र मिठा कुरा, बाहिर चर्का अभिव्यक्ति” को शैली दोहोरिनु अनुचित भएको बताएका थिए ।
महामन्त्री गगन थापा, बिमलेन्द्र निधिलगायत नेताहरूले प्रमाण र आधारबिना राजीनामा माग्नु अनुचित भएको भन्दै आलोचना गरेका थिए । "भोलि अनुसन्धानले जे भन्छ, त्यसको आधारमा मूल्यांकन गर्नुपर्छ । तर अहिले नै हचुवाको भरमा चर्को कुरा गर्नु पार्टी एकतालाई कमजोर पार्ने हो," थापाको भनाइ थियो ।
गृहमन्त्री लेखकले सहसचिव तीर्थराज भट्टराईको सरुवासम्बन्धी प्रश्नको जवाफ पनि बैठकमा दिए । उनका अनुसार, अध्यागमन प्रमुख सुरेश पन्थीले आफैं सरुवा मागेपछि भट्टराईलाई पठाइएको हो ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेका अनुसार गृहमन्त्री लेखकले मंगलबार संसद बैठकमा आफ्ना कुरा स्पष्ट पार्ने कार्यक्रम तय भएको छ । घिमिरेले भने, “कुनै मन्त्रालयका कर्मचारीको गल्तीको जिम्मा मन्त्रीले लगिनुपर्छ भने सिंगो सरकार बदल्नुपर्ने अवस्था आउँछ ।”
तपाईको प्रतिक्रिया दिनुहोस