नेकपा (एकीकृत समाजवादी) बझाङको अध्यक्षमा अक्कल धामी

नेकपा (एकीकृत समाजवादी) बझाङको अध्यक्षमा अक्कल धामी निर्विरोध निर्वाचित भएका छन् ।
छविसपाथिभेरा गाउँपालिकाका निवासी धामी एमाले विभाजनको समयदेखि एकीकृत समाजवादी पार्टी गठनमा अग्रपङ्क्तिमा रहँदै सक्रिय थिए । उनी यसअघि प्रदेश कमिटी सदस्यको रूपमा पार्टीमा योगदान दिँदै आएका थिए । धामी २०७४ को स्थानीय चुनावमा नेकपा (एमाले) को तर्फबाट छविसपाथिभेरा गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए ।
हालै सम्पन्न जिल्ला अधिवेशनबाट अध्यक्षसहित सबै पदाधिकारी सर्वसम्मत चयन भएका हुन् । उपाध्यक्षमा गणेश बोहरा र भक्त भण्डारी, सचिवमा लक्ष्मीराज जोशी तथा उपसचिवमा जोग कठायत, राधिका चित्रकार र हरिश खड्का चयन भएका छन् ।
अधिवेशनले ६५ सदस्यीय जिल्ला कमिटी पनि सर्वसम्मत रूपमा चयन गरेको पार्टीले जनाएको छ ।
जेठ ११ गते सम्पन्न अधिवेशनको उद्घाटन पार्टीका उपाध्यक्ष तथा सुदूरपश्चिम इन्चार्ज भानुभक्त जोशी र महासचिव घनश्याम भुसालले संयुक्त रूपमा गरेका थिए ।
तपाईको प्रतिक्रिया दिनुहोस