Techie IT
२०८२ भाद्र ३१, मंगलबार

७२ जिल्ला लिजमा दिऊँ भनेपछि...


प्रतिनिधि सभामा आज आइतबारको बैठकमा बजेटमाथिको छलफलका क्रममा सांसद अमरेशकुमार सिंहले चार–पाँच वटा जिल्लामा मात्र बजेट केन्द्रित भएको भन्दै बाँकी ७२ जिल्लालाई अरू मुलुकलाई लिजमा दिनुपर्ने अभिव्यक्ति दिएपछि विवाद उत्पन्न भएको छ ।

सांसद सिंहले असन्तुष्टि व्यक्त गर्दै भने, “चार–पाँच वटा भाग्यमानी जिल्लाहरू छन्, त्यसलाई नेपालमा राखौं । बाँकी ७२ जिल्लालाई लिजमा दिऊँ — अमेरिकालाई दिऊँ, चाइनालाई दिऊँ, भारतलाई दिऊँ । बजेट नै जाँदैन भने ती जिल्लालाई राखेर के गर्ने ? खाली कर लिनलाई राख्ने ?”

उनको यस्तो अभिव्यक्तिप्रति नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कडा आपत्ति जनाउँदै यो राष्ट्रघाती अभिव्यक्ति भएको आरोप लगाएका थिए । उनले प्रतिनिधि सभा नियमावली २०७९ को नियम २०, २१ र २३ अनुसार नियमापत्ति जनाउँदै उक्त अभिव्यक्तिलाई संसदीय रेकर्डबाट हटाउन माग गरेका हुन् ।

बर्तौलाले भने, “देशलाई गाभिदिऊँ भन्ने अभिव्यक्ति राष्ट्रको अखण्डता, सार्वभौमिकता र स्वाभिमानमाथि हमला हो। यस्तो अभिव्यक्ति कारबाहीको विषय हो, रेकर्डबाट हटाइनुपर्छ ।”

सभामुख देवराज घिमिरेले पनि सिंहको अभिव्यक्तिलाई असंसदीय ठहर गर्दै “७२ जिल्लालाई लिजमा दिऊँ” भन्ने अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन संघीय संसद् सचिवालयलाई निर्देशन दिएका थिए ।

सिंहले आफूले उठाएको बजेट असमानताको विषयमा भने कुनै प्रतिक्रिया नआएको भन्दै सभामुखको रूलिङप्रति आपत्ति जनाए । उनले सर्लाही जिल्लामा बजेट नपरेको गुनासो गर्दै मधेस प्रदेशका लागि मेडिकल कलेज नखोलिएको पनि आलोचना गरेका थिए ।

सभामुखको निर्देशनसँगै सांसद सिंहको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट औपचारिक रूपमा हटाइएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट