Techie IT
२०८२ असार १३, शुक्रबार

एमालेमा भण्डारीको पुनरागमन

पूर्वराष्ट्रपति भण्डारीको सम्भावित फिर्तीले एमालेमा हलचल

भण्डारी पक्षका नेताहरूले सदस्यता नवीकरण भइसकेको दाबी गरे पनि ओली पक्षका नेताहरूले त्यो प्रक्रिया नै गलत भएको तर्क गर्दै छन् ।


पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नेकपा एमालेको सक्रिय राजनीतिमा सम्भावित पुनरागमनले पार्टीभित्र आन्तरिक संघर्ष र रणनीतिक द्धन्द्व चुलिएको छ । मदन भण्डारी फाउन्डेसनले भोलि शनिबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गर्न लागेको मदन स्मृति दिवसको कार्यक्रम एमालेको आन्तरिक जीवनमा निकै अर्थपूर्ण मोड बन्ने देखिएको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको असहजताका बीच पूर्वराष्ट्रपति भण्डारीले सोही कार्यक्रममा सक्रिय राजनीतिमा पुन: प्रवेशको घोषणा गर्ने तयारी गरिरहेको उनी निकट नेताहरूले बताएका छन् । एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाका अनुसार, भण्डारीले अध्यक्ष ओलीलाई भेटेर आफूलाई पार्टी राजनीतिमा फर्कन सहयोग गर्न आग्रह गरिसकेकी छिन् ।

यद्यपि एमालेको सचिवालयमा भने भण्डारीको पुनरागमनलाई लिएर गम्भीर बहस शुरु भइसकेको छ । महासचिव शंकर पोखरेलले सचिवालयको ५३औँ बैठकमा पार्टी विधानमै व्यवस्था गरेर पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्कन रोक्नुपर्ने प्रस्ताव अघि सारेका थिए । उनले गणतन्त्रप्रति चौतर्फी प्रहार भइरहेका बेला पूर्वराष्ट्रपति पुनः पार्टी राजनीतिमा फर्केमा गलत सन्देश जाने तर्क गरेका थिए ।

तर सचिवालयमा पोखरेलको प्रस्तावको समर्थनमा कुनै नेताले साथ नदिएको जानकारी प्राप्त भएको छ । उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, गोकर्ण विष्टलगायत नेताहरूले व्यक्तिविशेषलाई लक्षित गर्दै विधान संशोधन गर्नु अनुचित हुने धारणा राखेका थिए ।

स्रोतका अनुसार, अन्त्यमा अध्यक्ष ओलीले स्वयं हस्तक्षेप गर्दै “व्यक्तिलाई लक्षित गरेर विधान संशोधन आवश्यक छैन” भन्ने भनाइ राखेपछि विषय 'सेफ ल्याण्डिङ' गरिएको हो । तर, धेरै नेताहरूको बुझाइमा यो प्रस्ताव ओलीकै चाहनाअनुसार महासचिव पोखरेलले अघि सारेको हुन सक्ने अनुमान गरिएको छ ।

पार्टी सदस्यता नवीकरण पनि अर्को विवादको बिन्दु बनेको छ । भण्डारी पक्षका नेताहरूले सदस्यता नवीकरण भइसकेको दाबी गरे पनि ओली पक्षका नेताहरूले त्यो प्रक्रिया नै गलत भएको तर्क गर्दै छन् । संगठन विभागका सचिव माधव ढुंगेलले भण्डारीको सदस्यता नवीकरण प्रक्रिया चलिरहेको बताएका छन् भने ओली पक्षले केन्द्रको स्वीकृति बिना गरिएको नवीकरणलाई अमान्य ठहर गर्दै सदस्यता ‘होल्ड’मा राखिएको जनाएका छन् ।

ओली समूहका नेताहरूले पार्टीमा वैकल्पिक शक्ति नआओस् भन्ने उद्देश्यले भण्डारीको पुनरागमन रोक्ने रणनीति अख्तियार गरेको बताइन्छ । अर्कोतर्फ, भण्डारी समर्थकहरूले भने उनलाई पार्टीभित्र फर्काएर नेतृत्वमा विविधता र वैचारिक सन्तुलन आवश्यक रहेको तर्क गरिरहेका छन् ।

भोलि हुने शनिबारको कार्यक्रमले एमालेको आन्तरिक शक्ति सन्तुलनमा कस्तो असर पार्नेछ भन्ने चासो देशभर बढ्दो छ । ओली र भण्डारीबीचको सम्बन्ध, पार्टी विधान संशोधनको सम्भावना, र गणतन्त्रप्रतिको दृष्टिकोण यी सबै पक्षले एमालेको आगामी राजनीति तय गर्नेछ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट