एआई विनाशको अतिरञ्जित डर त्यागौँ: राष्ट्रसङ्घीय वैज्ञानिक प्यानल
संयुक्त राष्ट्रसङ्घअन्तर्गत एआईसम्बन्धी अन्तर्राष्ट्रिय वैज्ञानिक प्यानलका विज्ञहरूले कृत्रिम बौद्धिकता (एआई) का सम्भावित जोखिमबारे भय पैदा गर्ने अतिरञ्जित भाष्यभन्दा वैज्ञानिक प्रमाण र तर्कमा आधारित बहस आवश्यक रहेकोमा जोड दिएका छन्।
महासभाको सन्दर्भमा न्युयोर्कमा आयोजित कार्यक्रममा गुगल डीपमाइन्डकी कार्यकारी तथा प्यानलकी सदस्य जोएल बार्रलले एआईबारे थाहा भएका र नभएका विषय छुट्याउन वैज्ञानिक अनुसन्धानमा जोड दिनुपर्ने बताउँदै “डरमा लगानी गर्नु त्यति उपयोगी हुँदैन” भन्नुभयो।
प्यानलका सहअध्यक्ष योशुआ बेङ्गियोले एआई जोखिमबारे वैज्ञानिकहरूले प्रमाणबाट वास्तवमै के जान्न सकेका छन् र त्यसका आधारमा कति टाढासम्म अनुमान गर्न सकिन्छ भन्ने छुट्याउनुपर्ने प्रस्ट पार्नुभयो। सन् २०२५ मा गठित यस प्यानलको मुख्य उद्देश्य एआईसम्बन्धी वैज्ञानिक बुझाइ बढाउनु र संयुक्त राष्ट्रसङ्घका छलफललाई प्रमाणमा आधारित बनाउन सहयोग गर्नु हो। एआई जोखिमबारे विश्वव्यापी रूपमा अनिश्चितता र जोखिमको गम्भीरतासहित तर्कसङ्गत छलफल आवश्यक रहेको उहाँले बताउनुभयो।
नोबेल शान्ति पुरस्कार विजेता तथा खोजी पत्रकार मारिया रेसाले पनि एआईसम्बन्धी बहसलाई मानव अस्तित्व समाप्त हुने वा एआईले खासै असर नगर्ने दुई अतिवादी धारणामा सीमित गर्न नहुने बताउँदै वास्तविकता धेरै सूक्ष्म र जटिल रहेको औंल्याउनुभयो।
यसअघि ओपनएआईका पूर्वकर्मचारी ज्याकोब कोक्सनले एआईले दशकको अन्त्यसम्ममा सबै मानिसको ज्यान लिन सक्ने विकासकर्ताहरूले विश्वास गरेको बताएका थिए भने गुगल डीपमाइन्डका पूर्वअनुसन्धान इन्जिनियरले एआईबाट मानव जातिको विनाश रोक्न निकै ढिला भइसकेको दाबी गरेका थिए। तर, राष्ट्रसङ्घीय वैज्ञानिक प्यानलका विज्ञहरूले भने यस्ता अतिरञ्जित र भय फैलाउने दाबीहरूभन्दा ठोस वैज्ञानिक तथ्य र प्रमाणमा ध्यान केन्द्रित गर्नुपर्ने स्पष्ट सन्देश दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस