Techie IT
२०८३ मंसिर १३, शनिबार

१४औँ दक्षिण एसियाली खेलकुद पुनः सारियो


पाकिस्तानमा सन् २०२७ को अप्रिलमा आयोजना गर्ने तय गरिएको १४औँ दक्षिण एसियाली खेलकुद (साग) को मिति पुनः सारिएको छ । यसअघि सन् २०२७ अप्रिल ३ देखि ११ तारिख (२०८३ चैत २० देखि २८ गते) सम्म तय गरिएको प्रतियोगिता अब सोही वर्षको सेप्टेम्बर १८ देखि २७ तारिखसम्म पाकिस्तानका विभिन्न सहरमा आयोजना गरिनेछ ।

साउदी अरबको रियादमा हुने छैटौँ एसियन इन्डोर एन्ड मार्सल आर्ट्स गेम्सको मितिसँग जुधेपछि दक्षिण एसियाली क्षेत्रको सबैभन्दा ठूलो खेलकुद महाकुम्भ ‘साग’को मिति सारिएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । रियादमा हुने इन्डोर गेम्स सन् २०२७ मार्च २८ देखि अप्रिल ८ सम्म सञ्चालन हुने गरी पुनर्निर्धारण गरिएको छ ।

पाकिस्तान ओलम्पिक एसोसिएसन (पीओए) ले दक्षिण एसियाका सबै सहभागी राष्ट्रिय ओलम्पिक कमिटी (एनओसी) सँगको परामर्श र सहमतिमा नयाँ मिति तय गरिएको जानकारी दिएको छ । पीओएले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “छैटौँ एसियन इन्डोर एन्ड मार्सल आर्ट्स गेम्सको मिति परिवर्तनलाई ध्यानमा राख्दै सागको नयाँ मिति तय गरिएको हो । खेलाडीको हित र कल्याणलाई प्राथमिकतामा राख्दै दुवै प्रतियोगितामा सहभागी हुने अवसर सुनिश्चित गर्न यो निर्णय लिइएको हो ।”

प्रत्येक दुई वर्षमा आयोजना हुनुपर्ने दक्षिण एसियाली खेलकुद सन् २०१९ को डिसेम्बरमा नेपालमा १३औँ संस्करण सम्पन्न भएयता हुन सकेको छैन । विभिन्न कारणले पटक–पटक सर्दै आएको सागको १४औँ संस्करण आयोजना नहुँदा प्रतियोगिताको अन्तराल सात वर्ष नाघिसकेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट