१० वर्षपछि साउदीसँग श्रम सम्झौता हुदै, न्यूनतम तलब, बीमा र सामाजिक सुरक्षा समेटिने

नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मुलुक साउदी अरेबियासँग श्रम समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ। करिब एक दशकको प्रयासपछि दुई देशबीच समझदारीको बाटो खुलेको हो।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले समझदारीमा हस्ताक्षर गर्न स्वीकृति दिएपछि छिट्टै नेपाल–साउदीबीच सम्झौता हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार प्रारम्भिक समझदारी ‘फ्रेमवर्क सम्झौता’ को रूपमा हुनेछ, जसअन्तर्गत भविष्यमा घरेलु कामदार, दक्ष जनशक्ति, सीप प्रमाणीकरणलगायत विषय विस्तार गर्न सकिनेछ।
मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेका अनुसार सम्झौतामा न्यूनतम तलब, बीमा, स्वास्थ्य सुविधा र सामाजिक सुरक्षा जस्ता विषयमा जोड दिइएको छ। साउदीले नेपालमै १० लाख अमेरिकी डलर लगानीमा तालिम एकेडेमी स्थापना गर्ने प्रतिबद्धता जनाएको छ। हाल साउदी अरेबियामा चार लाखभन्दा बढी नेपाली श्रमिक कार्यरत छन्। श्रम सम्झौता नहुँदा उनीहरू कम्पनी वा व्यक्तिगत सम्झौतामा भर पर्नुपर्ने अवस्था थियो। अब भने श्रमिकका अधिकार कानुनी रूपमा सुनिश्चित हुने प्रवक्ता घिमिरेको भनाइ छ।
श्रममन्त्री शरद सिंह भण्डारीले नेपाली श्रमिकको अधिकार र मानवअधिकारलाई केन्द्रमा राखेर सम्झौता अघि बढाइने बताए। श्रम सचिव डा. कृष्णहरि पुष्करले ‘श्रमिक पठाउने मुलुकका हकहितमा नेपाल सरकारले शून्य सहनशीलता अपनाउने’ स्पष्ट पारे।
साउदीले घरेलु श्रमिकसमेत लैजान प्रस्ताव गरेको छ। तर नेपालले हाल घरेलु श्रमिक पठाउन रोक लगाइएकाले यस विषयमा छुट्टै सहमति आवश्यक पर्ने बताइएको छ।
सन् २०३४ मा साउदीले आयोजना गर्ने फिफा विश्वकपका लागि ठूलो मात्रामा श्रमिक आवश्यक पर्ने अनुमान भएकाले नेपालले यसलाई अवसरका रूपमा लिएको छ।
विगतमा कतारमा भएको विश्वकपमा श्रमिक शोषणको मुद्दा अन्तर्राष्ट्रियकरण भएको स्मरण गर्दै मन्त्रालयले साउदीसँग हुने सम्झौतामा न्यूनतम मानव अधिकारलाई सर्वोच्च प्राथमिकता दिने जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस