Techie IT
२०८२ असोज ६, सोमबार

युवा पुस्ताको अपेक्षा अनुसार प्राधिकरणमा काम गर्नेछु - नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवाल


कार्यकारी निर्देशक मनोज सिलवाल (नेपाल विद्युत् प्राधिकरण)

नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले युवा पुस्ताको अपेक्षा अनुसार प्राधिकरणमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकबाट कार्यकारी निर्देशकमा नियुक्त सिलवालले हालको सेवा प्रवाहबाट ग्राहकले गुणस्तरीय सेवा अनुभव गर्न नसकेको भन्दै यसको सुधारमा केन्द्रित हुने बताए।

सिलवालले आफ्नो कार्यकालका मुख्य प्राथमिकताका विषयमा पनि प्रकाश पारेका छन् । उनले गुणस्तरीय विद्युत् आपूर्ति, विद्युत् पहुँच विस्तार, निर्यात प्रवर्द्धन, र प्राधिकरणलाई आर्थिक तथा प्राविधिक रूपमा सुदृढ बनाउने विषयलाई प्राथमिकतामा राख्ने बताए।

कार्यकारी निर्देशक सिलवालले विशेष गरी सार्वजनिक संस्थाबाट सेवा लिँदै आएका युवा पुस्ताको सन्तुष्टिमा जोड दिएका छन्। उनले भने, “युवा पुस्ताको अपेक्षा उच्च छ, तर हालको सेवा प्रवाहबाट उनीहरू सन्तुष्ट छैनन्। अब उनीहरू सन्तुष्ट हुने गरी सेवा सुधार गर्न आवश्यक छ। देशभर अझै विद्युत् नपुगेका क्षेत्रहरूमा विद्युतीकरण तीव्रता दिनुपर्ने आवश्यकता पनि छ।”

सिलवालले औद्योगिक क्षेत्रलाई नियमित विद्युत् आपूर्ति सुनिश्चित गर्न र निजी क्षेत्रसँग सहकार्य गरेर विद्युत् खरिद बिक्री बढाउनेतर्फ पनि ध्यान केन्द्रित गरिने बताए। उनले भारत लगायतका मुलुकहरूसँग विद्युत् आयात–निर्यात सम्भावनाको अध्ययन गरी वृद्धि गर्ने योजना रहेको जानकारी दिए।

कार्यकारी निर्देशक सिलवालले प्राधिकरणको आन्तरिक सुदृढीकरणलाई पनि आफ्नो प्रमुख एजेन्डा बनाउने बताए। आर्थिक र प्राविधिक रूपमा प्राधिकरणलाई सुदृढ बनाउन र डेडिकेटेड ट्रंकलाइनको बक्यौताको असुली प्राथमिकतामा राखिने उनको भनाइ छ।

सिलवालले निजी क्षेत्रसँगको विद्युत् खरिद सम्झौतालाई निरन्तरता दिने र नेपाल सरकारले तयार पारेको २८ हजार मेगावाटको ऊर्जा रोडम्याप अनुसार काम गर्ने पनि बताए। उनका अनुसार, निजी क्षेत्रको सहयोगबिनै यो लक्ष्य हासिल गर्नु सम्भव छैन।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट