विपिन जोशीको राष्ट्रिय सम्मानसहित आज अन्त्येष्टि

इजरायल–हमास युद्धका क्रममा ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको आज (मंगलबार) राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ।
जोशीको शवयात्रा बिहान ८ बजे कञ्चनपुरको भीमदत्त नगरपालिका–स्थित निवासबाट महाकाली नदीको भुजेला घाटका लागि सुरू भएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले धार्मिक परम्परा र राष्ट्रिय सम्मानअनुसार अन्त्येष्टि गर्ने तयारी गरिएको जानकारी दिए। उनका अनुसार विपिन जोशीको सम्मानमा सशस्त्र प्रहरी बलले सलामी अर्पण गर्नेछ।
अध्ययनको सिलसिलामा इजरायल पुगेका जोशी सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणका क्रममा बन्धक बनेका थिए। त्यसपछि उनी बेपत्ता रहेका थिए। इजरायली अधिकारीहरूले गत असोज २७ गते जोशीको मृत्यु पुष्टि गरेका थिए।
इजरायलबाट सोमबार मात्र उनको शव नेपाल ल्याइएको थियो। काठमाडौंमा सैनिक सम्मानका साथ ग्रहण गरिएको शव नेपाली सेनाको स्काई ट्रकमार्फत धनगढी विमानस्थल पुर्याइएको थियो। त्यहाँ सलामी अर्पण गरी परिवारका सदस्यलाई बुझाइएको थियो।
जोशीको अन्त्येष्टिमा सहभागी हुन नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बाससहित तीन सदस्यीय इजरायली प्रतिनिधिमण्डल पनि कञ्चनपुर पुगेको छ। राजदूतसहितको टोलीले विपिन जोशीको परिवारलाई घरमै पुगेर श्रद्धाञ्जली अर्पण गरेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस