देश बनाउने सपना बोकेका युवा कृषि प्राविधिक विपिन जोशी अन्ततः महाकालीमा बिलाए

कञ्चनपुरका युवा कृषि प्राविधिक विपिन जोशीको भुजेलाघाट, महाकाली नदी किनारमा मंगलबार अन्त्येष्टि गरिएको छ। दुई वर्षदेखि विपिनको सकुशल रिहाइको प्रतिक्षामा बसेका नेपालीले एक साताअघि मात्रै उनि जिवित नभएको खबर पाएका थिए। त्यसपछि परिवार र सिङ्गो देश शोकमा डुबेको थियो।
जोशीको पार्थिव शरीरमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरे। त्यसपछि शसस्त्र प्रहरी बलको एक टुकुडीले सलामी अर्पण गर्यो। इजरायलले सार्वजनिक गरेको ‘फरेन्सिक रिपोर्ट’ अनुसार, इजरायल–हमास युद्धमा हमासले बन्धक बनाएर टाउकोमा गोली हानी विपिनको हत्या गरेको पुष्टि भएको छ।
विपिन जिवित नरहेको जानकारी गत असोजको अन्तिम साता मात्रै हमासले सार्वजनिक गरेको थियो। कृषि विज्ञानतर्फ स्नातक तहको अध्ययनका लागि विपिनसँगै अन्य नेपाली विद्यार्थी टोली इजरायल पुगेका थिए। सोही क्रममा हमासको आक्रमणमा विपिन अपहरणमा परे।
विपिनको खोजीका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा दबाब बढाइए पनि अन्ततः उनलाई जिवित नपाइएको जानकारी सार्वजनिक भयो। सोमबार दिउँसो काठमाडौं ल्याइएको विपिनको शव साँझ अबेरमा महेन्द्रनगरस्थित घरमा पुर्याइएको थियो। भुजेलाघाटमा उनका पिता महानन्द जोशी र दाजु रामदत्त जोशीले दागबत्ती दिएका थिए ।
नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासले भुजेलाघाटमा पुगेर इजरायली राष्ट्रपतिको शोक सन्देश सुनाउँदै इजरायली झण्डा विपिनको शवमा ओढाए। राजदूत नेतृत्वको टोली शवसँगै अन्त्येष्टि स्थलसम्म पुगेको थियो ।
शवयात्रामा जनप्रतिनिधि, इजरायली राजदूतसहितको टोली, विपिनका इष्टमित्र, आफन्तजन र सर्वसाधारणको उल्लेख्य सहभागिता थियो। हमासबाट बन्धक बनाइएको विपिन जोशीको परिचय इजरायली विदेश मन्त्रालयले ‘अमच्योर्ड र्यापर’को रुपमा दिएको थियो। अमेरिकाको प्रसिद्ध अखबार वालस्ट्रिट जर्नलले पनि विपिनलाई र्याप संगीत सिक्दै गरेका युवा विद्यार्थीका रूपमा उल्लेख गरेको थियो।
सोमबार नेपाल ल्याइएका शवसँगै उनका लुगा, कापीकिताब, संगीत उपकरण र व्यक्तिगत सामग्री पनि ल्याइएको थियो।
विपिन दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए। उनी पुगेको एक महिनाभित्र हमासको आक्रमणमा परेका थिए। सोही घटनामा १० नेपाली विद्यार्थी मारिँदा विपिन अपहरणमा परेका हुन् ।
तपाईको प्रतिक्रिया दिनुहोस