बञ्चरेडाँडामा भोलिदेखि फोहोर फाल्न रोक्ने, स्थानीय भन्छन् - सरकारले झुक्यायो
सरकारले माग सम्बोधन गर्ने आश्वासन दिएर पनि कार्यान्वयन नगरेको भन्दै बञ्चरेडाँडा र सिसडोलका स्थानीय बासिन्दाले बुधबारदेखि पुनः फोहोर विसर्जनमा रोक लगाउने घोषणा गरेका छन्।
ल्यान्डफिल साइट प्रभावित क्षेत्रका स्थानीयले मंगलबार पत्रकार सम्मेलन गर्दै सरकारले आफूहरूलाई झुक्याएको आरोप लगाएका छन् । माग पूरा नभएसम्म फोहोर फाल्न नदिने उनीहरूको अडान छ।
१५ दिने 'अल्टिमेटम' सकियो, माग पूरा भएन यसअघि गत कात्तिक १२ गते पनि स्थानीयले फोहोर विसर्जनमा अवरोध गरेका थिए। त्यस लगत्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले १५ दिनभित्र माग पूरा गरिदिने प्रतिबद्धता जनाएका थिए।
मन्त्रीको उक्त प्रतिबद्धतापछि स्थानीयले आन्दोलन स्थगित गरेर फोहोर विसर्जन गर्न दिएका थिए। तर, तोकिएको १५ दिनको समयसीमा घर्किसक्दा पनि माग पूरा गर्न सरकार चुकेको भन्दै स्थानीय आक्रोशित बनेका हुन्।
पत्रकार सम्मेलनमा संघर्ष समितिका प्रतिनिधिहरूले भने, "सरकारले हामीलाई आश्वासन मात्र दियो, काम गरेन। हामीलाई ढाँट्ने काम भयो। त्यसैले बाध्य भएर भोलि (बुधबार) देखि फोहोर विसर्जन ठप्प पार्ने निर्णय गरेका छौँ।"
विगतमा बारम्बार सहमति हुने तर कार्यान्वयन नहुने प्रवृत्ति दोहोरिएकाले यसपटक माग पूरा नभएसम्म पछि नहट्ने उनीहरूले बताएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस