ऐतिहासिक खुलामञ्च १० वर्षपछि फेरि जनताको हातमा
खुलामञ्च केवल एक खुला चौर मात्र नभई नेपालको लोकतान्त्रिक आन्दोलन र राजनीतिक परिवर्तनको प्रत्यक्ष साक्षीका रूपमा रहेको ऐतिहासिक स्थल हो ।
संघीय राजधानी काठमाडौंको मुटुमा अवस्थित ऐतिहासिक तथा राजनीतिक महत्त्व बोकेको खुलामञ्च करिब एक दशकपछि पुनः सर्वसाधारणका लागि खुला गरिएको छ । काठमाडौं महानगरपालिकाले आइतबार विश्व ध्यान दिवसको अवसर पारेर औपचारिक कार्यक्रम गर्दै खुलामञ्च सार्वजनिक प्रयोगका लागि खुला गरेको हो । कार्यक्रममा विद्यार्थी, युवा तथा जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
राजनीतिक सभा–सम्मेलन र आन्दोलनहरूको प्रमुख केन्द्रका रूपमा चिनिने खुलामञ्च र रत्नपार्क क्षेत्र २०७३ वैशाखदेखि विभिन्न कारण देखाउँदै बन्द गरिएको थियो । सोही वर्ष पुरानो बसपार्कलाई अस्थायी रूपमा खुलामञ्चमा सारिएको थियो । खुलामञ्चमा अन्तिम पटक राजनीतिक कार्यक्रम २०७३ फागुन १ गते आयोजित भएको थियो, जुन नेत्रविक्रम चन्द नेतृत्वको दलले आयोजना गरेको सभा थियो ।
खुलामञ्च केवल एक खुला चौर मात्र नभई नेपालको लोकतान्त्रिक आन्दोलन र राजनीतिक परिवर्तनको प्रत्यक्ष साक्षीका रूपमा रहेको ऐतिहासिक स्थल हो । तर विगत करिब एक दशकयता यो क्षेत्र कहिले निर्माण सामग्री थुपार्ने स्थान त कहिले अस्थायी बसपार्कका रूपमा प्रयोग हुँदै आएको थियो ।
महानगरपालिकाका अनुसार अब खुलामञ्चलाई बिहानको हिँडडुल, योग, ध्यान तथा खेलकुद गतिविधिका लागि प्रयोगमा ल्याइनेछ । ऐतिहासिक महत्व बोकेको यस क्षेत्र पुनः सर्वसाधारणको पहुँचमा आएसँगै यसको संरक्षण र व्यवस्थित प्रयोगमा चासो बढ्ने अपेक्षा गरिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस