बोक्सीको आरोप लगाउँदै कुटपिट गर्ने चार जना पक्राउ
सुर्खेतको वीरेन्द्रनगरमा एक महिलालाई बोक्सीको आरोप लगाउँदै अमानवीय व्यवहार र यातना दिएको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर नगरपालिका–१२ बस्ने २१ वर्षीया बन्दना बोहरा, २० वर्षीया रिता बुढा, २१ वर्षीय जयबहादुर रोकाया र १८ वर्षीया अनिता बोहरा रहेका छन् । प्रहरीका अनुसार उनीहरूको स्थायी घर जुम्ला जिल्लाको तिला गाउँपालिका–२ हो ।
प्रहरीका अनुसार शुक्रबार दिउँसो करिब ४ बजे उनीहरू वीरेन्द्रनगर–१२ स्थित प्रेमकला रोकायाको डेरा कोठामा प्रवेश गरेका थिए । त्यहाँ उनीहरूले प्रेमकलालाई ‘तँ बोक्सी होस्’ भन्दै गालीगलौज गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिपक मगराठीका अनुसार उनीहरूले आफैँलाई धामी–झाँक्री बताउँदै प्रेमकलाको शरीरमा चामलले हिर्काउने तथा तातो पन्यूले शरीरका विभिन्न भागमा डाम्ने जस्ता अमानवीय कार्य गरेका थिए । ‘त्यति मात्र नभई भुइँमा छरिएका चामल बटुलेर पकाएर खान दबाबसमेत दिएका थिए,’ मगराठीले बताए ।
आफूमाथि भएको अन्याय र हिंसापछि प्रेमकलाले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा प्रहरीले चारै जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरूमाथि आइतबार जिल्ला अदालत सुर्खेतबाट म्याद थप गरी बोक्सीको आरोपसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस