थापाथलीसहितका सुकुमबासी लाई दशरथ रंगशालामा राखिने
थापाथली सहित काठमाडौंका विभिन्न क्षेत्रमा रहेका सुकुमबासी बस्तीका बासिन्दाको बसोबास व्यवस्थापन गर्ने तयारी सुरु गरिएको छ।
सरकारले बस्ती हटाउने तयारी अघि बढाएसँगै काठमाडौं महानगरपालिका, सहरी विकास मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंले विस्थापित हुने नागरिकका लागि अस्थायी बसोबासको प्रबन्ध मिलाउन थालेका हुन्।
प्रारम्भिक योजना अनुसार विस्थापित नागरिकलाई दशरथ रंगशाला, त्रिपुरेश्वरमा राखिनेछ। त्यहाँ प्रारम्भिक ‘स्क्रिनिङ’ प्रक्रिया पूरा गरेपछि उनीहरूलाई अन्य अस्थायी बसोबासका लागि तोकिएका स्थानमा पठाइने महानगर स्रोतले जनाएको छ।
स्रोतका अनुसार अस्थायी बसोबासका लागि काठमाडौंभित्र तीन स्थान छनोट गरिएका छन्। तर, सुरक्षा संवेदनशीलताका कारण ती स्थान हाल सार्वजनिक गरिएको छैन।
यसैबीच, काठमाडौं महानगरपालिकामा सुकुमबासी व्यवस्थापन र सुरक्षासम्बन्धी विषयमा आकस्मिक कार्यपालिका बैठक सुरु भएको छ।
महानगरका एक वडाध्यक्षका अनुसार सो बैठकमा बस्ती व्यवस्थापनसम्बन्धी रणनीतिमाथि छलफल भइरहेको छ।
अघिल्ला बैठकहरू जस्तै प्रत्यक्ष प्रसारण नगरिएको आजको बैठकले विषयको संवेदनशीलता झल्काएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस