खुकुरी देखाएर युवतीमाथि कुटपिट गर्ने युवक लागुऔषधसहित पक्राउ
सामाजिक सञ्जालमा खुकुरी देखाएर युवतीलाई धम्क्याउँदै कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि दाङमा एक युवक पक्राउ परेका छन्। दाङको तुलसीपुर उपमहानगरपालिका–२ भंके निवासी २४ वर्षीय रमेश ठाडा मगरलाई प्रहरीले विभिन्न प्रकारका लागुऔषधसहित पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) डा. हेम केसीका अनुसार मगरले एक युवतीलाई जंगल क्षेत्रमा लगेर खुकुरी देखाई डर–धम्की दिँदै कुटपिट गरेको, आपत्तिजनक शब्द प्रयोग गरेको तथा उक्त घटनाको भिडियो रैवारप्रेसमा सार्वजनिक भएको थियो। भिडियो सार्वजनिक भएसँगै घटनाको चौतर्फी आलोचना भएको थियो।
घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले मगरलाई उनकै घरबाट नियन्त्रणमा लिएको हो। पक्राउका क्रममा उनीबाट विभिन्न प्रकारका लागुऔषधजन्य ट्याब्लेटसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
यसै घटनामा संलग्न रहेको आरोपमा २१ वर्षीय जिबराज खत्रीलाई पनि प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

प्रहरीका अनुसार कुटपिटमा परेकी युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको छ। घटनामा संलग्न व्यक्तिविरुद्ध आपराधिक उपद्रव, अभद्र व्यवहार, कुटपिट तथा लागुऔषधसम्बन्धी कसुरसहित ३–४ प्रकृतिका मुद्दा आकर्षित हुन सक्ने प्रहरीको भनाइ छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस