झुण्डिएको अवस्थामा भेटिए प्याब्सन कोषाध्यक्ष अधिकारी
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)का केन्द्रीय कोषाध्यक्ष दिननाथ अधिकारी मृत फेला परेका छन्। ४५ वर्षीय अधिकारी काठमाडौँको तार्केश्वर नगरपालिका वडा नम्बर–८ स्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएका हुन्।
तार्केश्वरको शेषमति भेटघाट चोकमा बस्दै आएका अधिकारी शुक्रबार दिउँसो आफ्नै कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए।
प्रहरीका अनुसार शुक्रबार दिउँसो करिब साढे १ बजेतिर अधिकारीले आफ्नै कोठाका दुई वटा दराजको बिचमा पर्दा झुण्ड्याउने डण्डी अड्याएर पासो लगाएका थिए। उनलाई सोही अवस्थामा देखेपछि उनकी आमाले तत्काल प्रहरीलाई खबर गरेकी थिइन्।
घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। मुचुल्का उठाएर अधिकारीको शव पोस्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टीचिंग) मा राखिएको छ।
मृतक अधिकारी प्याब्सनको केन्द्रीय कोषाध्यक्ष हुनुका साथै काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित प्रतिष्ठित शैक्षिक संस्था 'नेशनल मोडल सेकेन्डरी स्कुल'का प्रिन्सिपल समेत हुन्। शिक्षा क्षेत्रमा सक्रिय र परिचित व्यक्तित्व अधिकारीको यसरी आकस्मिक निधन भएपछि शैक्षिक वृत्त स्तब्ध बनेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस