Techie IT
२०८३ असार १५, सोमबार

डा. पौडेलको पक्राउविरुद्ध प्राकृतिक चिकित्सक संघ आक्रोशित, तत्काल रिहाई गर्न माग


गैरकानुनी रूपमा चिकित्सकीय अभ्यास गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेकी प्राकृतिक चिकित्सक डा. चेतना पौडेलको तत्काल रिहाइको माग गर्दै योग तथा प्राकृतिक चिकित्सक संघ, नेपालले सरकारको ध्यानाकर्षण गराएको छ।

संघले विज्ञप्ति जारी गर्दै डा. पौडेलको गिरफ्तारीलाई अन्यायपूर्ण र गैरकानुनी भएको दाबी गरेको छ। संघका अनुसार उनी भारतको राजीव गान्धी स्वास्थ्य विज्ञान विश्वविद्यालयबाट बैचलर अफ नेचुरोप्याथी एन्ड योगिक साइन्सेज (बीएनवाईएस) अध्ययन पूरा गरेकी दर्तावाला प्राकृतिक चिकित्सक हुन् र आफ्नो शैक्षिक योग्यता तथा कानुनी कार्यक्षेत्रभित्र रहेर सेवा दिइरहेकी छन्।

सीआईबीले डा. पौडेललाई असार ९ गते काठमाडौंको सतुङ्गलस्थित स्पार्क हेल्थ एन्ड रिसोर्टबाट पक्राउ गरेको थियो। नेपाल मेडिकल काउन्सिलको प्रतिवेदनका आधारमा उनीमाथि गैरकानुनी रूपमा चिकित्सकीय अभ्यास गरेको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हाल उनी प्रहरी हिरासतमा रहेकी छन्।

संघका अनुसार बीएनवाईएस कार्यक्रम भारतका ७० भन्दा बढी मेडिकल कलेज तथा विश्वविद्यालयमा सञ्चालन हुँदै आएको छ। डा. पौडेल भारतको केन्द्रीय योग तथा प्राकृतिक चिकित्सा अनुसन्धान परिषद्मा पनि दर्ता भएकी चिकित्सक रहेको संघको दाबी छ।

नेपालमा प्राकृतिक चिकित्सा तथा अन्य वैकल्पिक चिकित्सा पद्धतिका लागि छुट्टै नियामक परिषद् स्थापना नभएकाले हाल नेपाल स्वास्थ्य व्यवसायी परिषद्बाट दर्ता भई अभ्यास गर्ने कानुनी व्यवस्था रहेको संघले जनाएको छ। सोही व्यवस्थाअनुसार डा. पौडेलले परिषद्बाट अनुमति प्राप्त गरी सेवा दिइरहेको र उनको शैक्षिक योग्यताको त्रिभुवन विश्वविद्यालयबाट समकक्षता निर्धारण भइसकेको पनि संघले उल्लेख गरेको छ।

संघले विश्वविद्यालयले बीएनवाईएस स्नातकलाई दीक्षान्त समारोहमा ‘डा.’ उपाधिसहित प्रमाणपत्र प्रदान गर्ने भएकाले नामअघि ‘डा.’ लेख्नु गैरकानुनी नहुने जिकिर गरेको छ। विश्वविद्यालयबाट प्राप्त शैक्षिक उपाधिको प्रयोगमा कुनै परिषद्ले रोक लगाउन नमिल्ने पनि संघको तर्क छ।

विज्ञप्तिमा नेपाल स्वास्थ्य व्यवसायी परिषद्को आचारसंहिता र प्राकृतिक चिकित्सकको कार्यक्षेत्रसम्बन्धी व्यवस्थाअनुसार बीएनवाईएस चिकित्सकले बिरामीको प्रारम्भिक मूल्याङ्कन, स्वास्थ्य परीक्षण, प्रयोगशाला तथा रेडियोलोजी परीक्षणको व्याख्या, रोगको पहिचान तथा प्रमाणमा आधारित उपचार सेवा दिन सक्ने उल्लेख गरिएको छ। त्यसैले यस्तो अभ्यासलाई गैरकानुनी भन्न नमिल्ने संघको दाबी छ।

संघले यसअघि पनि असार १३ गते जारी विज्ञप्तिमार्फत बीएनवाईएस डिग्री अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त साढे पाँच वर्षे चिकित्सा शिक्षा भएको र नेपालमा नेपाल संस्कृत विश्वविद्यालय तथा मनमोहन प्राविधिक विश्वविद्यालयमार्फत सञ्चालन भइरहेको स्पष्ट पारेको थियो।

संघका अनुसार चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा उत्तीर्ण गरी अध्ययन पूरा गरेका विद्यार्थीले नेपाल स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षा पास गरेपछि प्राकृतिक चिकित्सकका रूपमा अभ्यास गर्न पाउने कानुनी व्यवस्था छ। त्यसैले बीएनवाईएस स्नातकलाई गैरकानुनी चिकित्सकका रूपमा चित्रण गर्नु तथ्यपरक नभएको संघको भनाइ छ।

नेपाल मेडिकल काउन्सिल एलोपेथिक चिकित्सकको नियमन गर्ने निकाय भएकाले बीएनवाईएस चिकित्सक त्यसमा दर्ता नभएको आधारमा गैरकानुनी अभ्यासको आरोप लगाउन नमिल्ने संघले जनाएको छ। प्राकृतिक चिकित्सा तथा होमियोप्याथीका लागि छुट्टै परिषद् स्थापना नभएसम्म नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले नै दर्ता तथा नियमन गर्दै आएको पनि संघको दाबी छ।

संघले सरकारले तत्काल प्राकृतिक चिकित्सा परिषद् गठन गर्न, प्राकृतिक चिकित्सकको दर्ता र नियमनको स्पष्ट कानुनी व्यवस्था गर्न, योग तथा प्राकृतिक चिकित्सा सेवालाई राष्ट्रिय स्वास्थ्य प्रणालीमा समावेश गर्न तथा पेशागत सम्मान र सुरक्षा सुनिश्चित गर्न माग गरेको छ।

यसैबीच, भारतीय प्राकृतिक चिकित्सा तथा योग स्नातक चिकित्सक संघ (आईएनवाईजीएमए) ले पनि डा. पौडेलको पक्राउप्रति गम्भीर चासो व्यक्त गरेको छ। संघले विज्ञप्ति जारी गर्दै डा. पौडेल भारतको बेङ्गलुरुस्थित राजीव गान्धी स्वास्थ्य विज्ञान विश्वविद्यालय अन्तर्गत एसडीएम कलेज अफ नेचुरोप्याथी एन्ड योगिक साइन्सेजबाट बीएनवाईएस अध्ययन पूरा गरेकी योग्य चिकित्सक भएको उल्लेख गरेको छ।

भारतीय संघका अनुसार बीएनवाईएस पूर्णकालीन व्यावसायिक चिकित्सा शिक्षा हो, जसमा विस्तृत शैक्षिक अध्ययन, क्लिनिकल तालिम र अनिवार्य इन्टर्नसिप समावेश हुन्छ। त्यसैले उनलाई ‘नक्कली प्रमाणपत्र’ वा ‘डा.’ उपाधि प्रयोगको आधारमा पक्राउ गरिएको घटनाले अन्तर्राष्ट्रिय प्राकृतिक चिकित्सा समुदायलाई समेत चिन्तित बनाएको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट