बँदेल धपाउन थापिएको करेन्ट पासोमा श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ
जंगली जनावरबाट बाली जोगाउन बारीमा थापिएको विद्युतीय पासोमा परेर गुल्मीमा एक महिलाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र विश्वकर्माका अनुसार धुर्कोट गाउँपालिका–५ मन्टारीका ६६ वर्षीय भेषराज भण्डारीले आफ्नै घरदेखि करिब १५० मिटर टाढा रहेको बारीमा जंगली बँदेलबाट बाली जोगाउन बिजुलीको पोलबाट करेन्ट प्रवाह गरी विद्युतीय पासो थापेका थिए।
सोही पासोमा परेर उनकी ६० वर्षीया श्रीमती हुमकला भण्डारी गम्भीर घाइते भएकी थिइन्। उपचारका लागि तत्काल जिल्ला अस्पताल तम्घास पुर्याइए पनि बिहान ३:२५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
घटनापछि विद्युतीय पासो थाप्ने भेषराज भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनास्थलमा प्रहरी टोली पुगेर मुचुल्कालगायत आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
पछिल्ला वर्षहरूमा पहाडी जिल्लामा बँदेल, बाँदर, नीलगाईलगायत जंगली जनावरले बालीमा ठूलो क्षति पुर्याउँदै आएका छन्। खेतबारी जोगाउन कठिन भएपछि केही किसानले विद्युतीय तार तथा अन्य जोखिमपूर्ण पासो प्रयोग गर्ने गरेका छन्।
प्रहरीले यस्ता विद्युतीय पासो प्रयोग गर्दा मानव जीवनसमेत जोखिममा पर्ने भएकाले त्यसको प्रयोग नगर्न तथा सुरक्षित र वैकल्पिक उपाय अपनाउन सबैलाई आग्रह गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस