बुद्धनगरमा एक पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जल्यो
काठमाडौँको बुद्धनगरमा पारिवारिक विवादका कारण एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । काठमाडौँ महानगरपालिका–१० स्थित आफ्नै डेरामा शनिबार बिहान ती पुरुषले शरीरमा आगो लगाएका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं एसपी पवन भट्टराईका अनुसार आत्मदाह प्रयास गर्नेमा ४५ वर्षीय अश्विन राउत रहेका छन् । छोरासँग सामान्य विवाद भएपछि आक्रोशित बनेका राउतले भान्सा कोठामा छिरेर आफ्नै शरीरमा आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटना लगत्तै परिवारका सदस्य र स्थानीयवासीको सक्रियतामा उनलाई उद्धार गरी तत्कालै वीर अस्पताल पुर्याइएको थियो । अस्पतालका अनुसार राउतको शरीरको ५५ प्रतिशत भाग जलिसकेको र हाल उनको वीर अस्पतालमै गम्भीर अवस्थामा उपचार भइरहेको छ ।
प्रहरीले घटनाको मुख्य कारण र अन्य प्राविधिक पक्षबारे थप अनुसन्धान अघि बढाएको एसपी भट्टराईले जानकारी दिएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस