Techie IT
२०८३ श्रावण ११, सोमबार

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुदै


देशकै पहिलो आधुनिक एवं व्यवस्थित यातायात सुरुङमार्गका रूपमा लिइएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन गरिँदै छ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्षसहितका उच्च अधिकारीको उपस्थितिमा बिहान १०:२५ बजे सुरुङमार्गको उद्घाटन गर्ने कार्यक्रम छ। उद्घाटनपश्चात् निर्माण कम्पनीले सुरुङमार्ग औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ।

कार्यक्रम तालिकाअनुसार मन्त्री लम्साल, जापानी राजदूत र जाइका अध्यक्षले सुरुङभित्र गाडी चलाएर सवारी आवागमनको सुरुआत गर्नेछन्। पहिलो चरणमा एम्बुलेन्स, सुरक्षा निकायका गाडी तथा अन्य अत्यावश्यक सवारीसाधनलाई मात्र प्रवेश दिइनेछ।

सुरुङमार्गलाई केही दिन पूर्ण रूपमा परीक्षण गरी सुरक्षा र ट्राफिक व्यवस्थापनको सुनिश्चिततापछि मात्र सबै वर्गका सवारीसाधनका लागि खुला गरिनेछ। परीक्षण अवधिभर सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले कुनै शुल्क तिर्नुपर्ने छैन।

परीक्षण काल सकिएपछि कुल २,६८८ मिटर लामो यस सुरुङमार्ग प्रयोग गरेबापत निश्चित शुल्क तोकिएको छ। सडक विभागका अनुसार- 

कार र भ्यान: काठमाडौँ भित्रिँदा रु. ६५ र बाहिरिँदा रु. ६०

मिनीबस, ट्रक र टिपर: काठमाडौँ भित्रिँदा रु. ११५ र बाहिरिँदा रु. ८०

ठूला बस तथा ट्रक: काठमाडौँ भित्रिँदा रु. २६० र बाहिरिँदा रु. २००

सुरुङमार्गमा शुल्क भुक्तानीका लागि विद्युतीय (Digital) प्रणालीको समेत व्यवस्था गरिएको छ।

सुरुङमार्गमा पैदलयात्री, दुईपाङ्ग्रे (मोटरसाइकल/स्कुटर) र तीनपाङ्ग्रे सवारीसाधनलाई प्रवेश अनुमति दिइने छैन। साथै पेट्रोल, डिजेल, ग्यास जस्ता प्रज्ज्वलनशील तथा विस्फोटक पदार्थ बोकेका सवारीसाधनलाई पनि सुरुङमार्ग प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको छ।

मुख्य सुरुङ र उद्धार (Rescue) सुरुङ गरी आयोजनामा दुईवटा सुरुङ छन्। मुख्य सुरुङमा सवारीसाधन सञ्चालन हुनेछन् भने कुनै आपत्कालीन अवस्थामा उद्धार सुरुङको प्रयोग गरिनेछ। जापानको हाज्मा एन्डो कर्पोरेसनले निर्माण गरेको यस आयोजनाका परामर्शदाता निप्पन कोइका इन्जिनियर रमेशप्रसाद कोइरालाका अनुसार सुरुङभित्र अक्सिजनको निरन्तर प्रवाह, दमकल, आकस्मिक उद्धार प्रणाली, सिसीटिभी क्यामेरा र आधुनिक सुरक्षा संयन्त्र जडान गरिएका छन्।

काठमाडौँको चन्द्रागिरि–१ दहचोक टोटीपाखाबाट सुरु भई धादिङको धुनिबेँसी स्थित सिस्नेखोलामा टुङ्गिने यो सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुङ्गाको उकालो, घुमाउरो बाटो र निरन्तरको सास्तीपूर्ण जामबाट मुक्ति मिल्नेछ। यसले यात्रुको कम्तीमा एक घण्टा समय र ठूलो मात्रामा इन्धन बचत गर्ने अपेक्षा गरिएको छ।

जापान सरकारको रु. २१ अर्ब सहुलियतपूर्ण ऋण र नेपाल सरकारको रु. ६ अर्ब गरी कुल रु. २७ अर्बको लगानीमा यो आयोजना सम्पन्न भएको हो। ४२ महिनामा निर्माण सक्ने लक्ष्य राखिए पनि कोरोना महामारी र प्राविधिक जटिलताका कारण निर्माणमा केही समय थपिएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट