विश्वमा कमजोर बन्दै नेपाली राहदानी, १७१औँ स्थानमा सीमित
नेपाली राहदानीको विश्वव्यापी स्तर र पहुँचसम्बन्धी नयाँ प्रतिवेदन सार्वजनिक भएको छ।
विश्वका १९९ देशका राहदानीको विश्लेषण गर्ने अन्तर्राष्ट्रिय प्लेटफर्म 'पासपोर्ट रिपोर्ट्स' का अनुसार नेपाली राहदानी विश्वभर १७१औँ स्थानमा खुम्चिन पुगेको छ। नयाँ तथ्याङ्कअनुसार नेपाली राहदानीको मोबिलिटी स्कोर ५२ मा सीमित छ। यसको अर्थ नेपाली नागरिकले पूर्वभिसा नलिई विश्वका ५२ वटा गन्तव्यमा मात्र यात्रा गर्न सक्छन्। नेपालको विश्वव्यापी पहुँच दर २६.३ प्रतिशत मात्रै रहँदा, विश्वका १४६ वटा गन्तव्यमा पुग्न नेपालीले यात्राअघि नै अनिवार्य रूपमा भिसा वा पूर्वस्वीकृति लिनुपर्ने बाध्यता रहेको प्रतिवेदनले औँल्याएको छ।
प्रतिवेदन अनुसार नेपाली राहदानीबाहकले हाल भारत, सिंगापुर, फिलिपिन्स, पाकिस्तान र केही क्यारिबियन राष्ट्रसहित ११ वटा गन्तव्यमा मात्र पूर्ण रूपमा भिसामुक्त प्रवेश पाउँछन्। यस्तै, मलेसिया, माल्दिभ्स, बंगलादेश र कतिपय अफ्रिकी मुलुकलगायत ३७ वटा देशमा आगमन भिसा वा सरल प्रवेश व्यवस्था छ भने ४ वटा देशमा इलेक्ट्रोनिक ट्राभल अथोराइजेसनमार्फत प्रवेश गर्न सकिन्छ। एसियाका ५० देशमध्ये नेपाल ४१औँ स्थानमा छ भने युरोप र खाडी मुलुकहरू नेपाली राहदानीका लागि सबैभन्दा कठिन देखिएका छन्।
युरोपका ४७ मध्ये ४६ देशमा अग्रिम भिसा अनिवार्य छ भने संयुक्त अरब इमिरेट्स (UAE), कतार र साउदी अरबसहित सबै ६ खाडी मुलुकमा पूर्वस्वीकृति बिना यात्रा गर्न निषेध छ।
यता, नेपाली राहदानी कमजोर देखिए पनि विदेशी नागरिकका लागि नेपाल प्रवेश कत्तिको सहज छ भन्ने मापन गर्ने 'वेलकमिङ इन्डेक्स' मा भने नेपाल ३७औँ स्थानमा छ, जसले नेपाल विदेशीका लागि निकै उदार रहेको पुष्टि गर्छ।
तर, भिसा पारस्परिकतामा भने ठुलो असमानता देखिएको छ। नेपालले अन्य देशका नागरिकलाई आगमन भिसा वा सहज प्रवेश दिए पनि ती राष्ट्रहरूले नेपाली नागरिकमाथि कडा भिसा नीति लादेका छन्। परिणामस्वरुप, अमेरिका, क्यानडा, बेलायत, अस्ट्रेलिया र अधिकांश युरोपेली मुलुकसहित विश्वको ७३.७ प्रतिशत भूभागमा पुग्न नेपालीले अझै पनि झन्झटिलो प्रक्रिया पार गर्नुपर्ने दयनीय अवस्था छ।



तपाईको प्रतिक्रिया दिनुहोस