नेपाली सेनाले देवीघाटमा युद्धस्तरमा एक्रो ब्रिज निर्माण गर्दै
गत भदौ १० गतेको बाढीले त्रिशूली र तादी नदीमा रहेका अधिकांश पुलहरू बगाएपछि नुवाकोटका विभिन्न क्षेत्रमा यातायात तथा जनजीवन पूर्ण रूपमा प्रभावित बनेको छ।
बाढीले विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीको पुल र सडक संरचनामा समेत व्यापक क्षति पुर्याएपछि आवागमन अवरुद्ध भएको छ।
अवरुद्ध यातायातलाई यथाशीघ्र पुनःसञ्चालनमा ल्याउन नेपाली सेनाको इन्जिनियरिङ फौजले देवीघाटमा एक्रो ब्रिज (Bailey/Acrow Bridge) निर्माणको कामलाई युद्धस्तरमा तीव्रता दिएको छ। बाढी प्रभावित क्षेत्रमा आवागमन सहज बनाउने उद्देश्यले सेनाले निर्माण गरिरहेको उक्त पुल ६० मिटर लामो, ५.५ मिटर चौडा र ५० टन भारवहन क्षमताको रहेको छ।
स्थानीय बासिन्दाहरूलाई तत्काल राहत दिनेगरी भइरहेको यो द्रुत निर्माण कार्य केही दिनभित्रै सम्पन्न हुने नेपाली सेनाले जनाएको छ। पुल निर्माणको काम सकिएलगत्तै देवीघाट तथा आसपासका बस्तीहरूमा यातायात सेवा पुनः सुचारu हुने र स्थानीयको दैनिकी सहज बन्ने उच्च आशा गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस