एएफसी यू–२० महिला एसियन कप छनोटमा आज नेपाल र उत्तर कोरियाबीच प्रतिस्पर्धा हुदै

नेपालले आज एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत समूह ‘ए’को अन्तिम खेलमा उत्तर कोरियाको सामना गर्दैछ। खेल नेपाली समय अनुसार दिउँसो १:४५ बजे सुरु हुनेछ। यस खेलको प्रत्यक्ष प्रसारण भुटान फुटबल फेडेरेसनको युट्युब च्यानल www.youtube.com/@bhutanfootball बाट हेर्न सकिन्छ।
यसअघि नेपालले पहिलो खेलमा भुटानसँग १–१ गोलको बराबरी खेलेको थियो भने दोस्रो खेलमा साउदी अरबलाई १–० ले हराएको थियो। दुई खेलपछि ४ अंकसहित नेपाल समूह ‘ए’ मा दोस्रो स्थानमा छ र अपराजित यात्रा कायम राखेको छ।
उत्तर कोरिया भने अत्यन्त बलियो प्रदर्शन गर्दै आएको छ। उसले पहिलो खेलमा साउदी अरबलाई १५–० ले र दोस्रो खेलमा भुटानलाई १०–० ले पराजित गरेको छ।
समूह ‘ए’ बाट भुटान र साउदी अरबको यात्रा समाप्त भइसकेको छ। नेपालले आफ्नो छनोट सम्भावना जोगाउन आज उत्तर कोरियाविरुद्ध जित्न वा बराबरी खेल्नुपर्नेछ। शीर्ष स्थानमा पुग्नका लागि नेपालले उत्तर कोरियालाई २५ गोलको फरकमा पराजित गर्नुपर्ने अवस्था छ, जुन व्यावहारिक रूपमा कठिन देखिन्छ। त्यसैले नेपाल सामान्य जित वा बराबरीको लक्ष्यका साथ मैदानमा उत्रिनेछ।
छनोट प्रणाली अनुसार, आठै समूहका विजेता टोलीहरू सीधा एएफसी यू–२० महिला एसियन कपका लागि छनोट हुनेछन्, साथै समूह ‘ए’ सहित सबै समूहका दोस्रो स्थानमा रहेका उत्कृष्ट तीन टोलीहरू पनि अन्तिम चरणमा पुग्नेछन्।
नेपालको टोली (कप्तान: बिर्साना चौधरी):
गोलकिपर: लिला जोशी, करुण बुढाथोकी, सुजाता तामाङ, डिफेन्डर: सरिता कुमारीनाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु पण्डक, सिमरन राई, सजिना स्याङ्तान, गंगा रोकाया, अनिशा राई, सीता रोकाया रहेकी छन् ।
मिडफिल्डर: कविता गुरुङ, सुशीला केसी, अस्मिता गुरुङ, बिर्साना चौधरी (सी), सेनु परियार रहेकी छन् ।
फरवार्ड: कुसुम खतिवडा, सुक्रिया मिया, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा, समीक्षा मगर रहेकी छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस