आइसिसी टी–२० विश्वकपका लागि नेपालको स्थान पक्का

सन् २०२६ को फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा हुने आइसिसी टी–२० विश्वकपका लागि नेपालले स्थान पक्का गरेको छ।
नेपालले लगातार दोस्रो र समग्रमा तेस्रो पटक टी–२० विश्वकपमा खेल्ने अवसर पाएको हो। यसअघि नेपालले सन् २०१४ र २०२४ को टी–२० विश्वकपमा सहभागिता जनाएको थियो।
ओमानमा जारी एसिया–इएपी छनोट प्रतियोगितामा शीर्ष तीन टोलीमा स्थान सुरक्षित गर्दै नेपालले विश्वकपमा आफ्नो टिकट पक्का गरेको हो।
छनोटअन्तर्गत सुपर–६ चरणमा शीर्ष तीन टोलीले विश्वकपमा स्थान पाउने व्यवस्था छ । आज युएईले सामोआलाई ७७ रनले हराएपछि नेपाल शीर्ष तीनमा पर्ने निश्चित भएको हो ।
नेपालसँगै घरेलु टोली ओमान पनि टी–२० विश्वकप २०२६ का लागि छनोट भएको छ । सुपर–६ को बाँकी दुई खेलअघि ओमान र नेपाल दुवैका ६–६ अंक छन् । अब अर्को टोलीले मात्र ६ अंक जोड्न सक्ने भएकाले दुवै टोलीको विश्वकप यात्रा सुनिश्चित भएको हो ।
नेपाल र ओमानबीच आज राति हुने खेलले छनोट प्रतियोगिताको च्याम्पियन तय गर्नेछ । टस जितेर नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । आजको खेलमा लोकेश बमलाई अवसर दिइएको छ ।
सुपर–६ चरणमा नेपाल र ओमान दुवै अपराजित छन्। नेपालले यूएईलाई १ रनले र कतारलाई ५ रनले हराएको थियो। समूह चरणमा जापानलाई ५ विकेट र कुवेतलाई ५८ रनले पराजित गरेको थियो। ओमानले भने सुपर–६ मा यूएईलाई ५ विकेट र कतारलाई ३४ रनले हराएको छ।
अब एसियाबाट बाँकी एक स्थान युएई र जापानबीचको प्रतिस्पर्धाबाट तय हुनेछ। दुवै टोली भोलिको निर्णायक खेलमा आमनेसामने हुनेछन्।
तपाईको प्रतिक्रिया दिनुहोस