Techie IT
२०८३ श्रावण ३१, आइतबार

इन्डोनेसियामा त्रिदेशीय महिला फुटबल: नेपाल आज चिनियाँ ताइपेइसँग भिड्दै


इन्डोनेसियामा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबल प्रतियोगिताअन्तर्गत नेपालले आज (मंगलबार) बलियो टोली चिनियाँ ताइपेइसँग प्रतिस्पर्धा गर्दैछ।

स्थानीय समयअनुसार खेल साँझ ७:३० बजे सुरु हुनेछ। फिफा वरियतामा नेपालभन्दा निकै माथि रहेको चिनियाँ ताइपेइलाई बलियो मानिन्छ। चिनियाँ ताइपेइ फिफा वरियताको ४२औँ स्थानमा छ भने नेपाल ८९औँ स्थानमा रहेको छ।

चिनियाँ ताइपेइको अन्तर्राष्ट्रिय महिला फुटबलमा लामो र सफल इतिहास छ। सन् १९७७ मा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको यस टोलीले १९७७, १९७९ र १९८१ मा लगातार तीनपटक एएफसी महिला एसियन कपको उपाधि जितेको थियो।

नेपालले भने सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिँदै आएको छ। नेपालले एसियन कप खेलेको भए पनि समूह चरणको खेलमा मात्र सीमित बनेको इतिहास छ।

नेपाली राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले चिनियाँ ताइपेइ बलियो भए तापनि उत्कृष्ट खेल प्रदर्शन गर्दै जित निकाल्नेमा विश्वास व्यक्त गरेका छन्। उनले इन्डोनेसियाविरुद्धको पहिलो खेलमा देखिएको ‘फिनिसिङ’को कमजोरीलाई सुधारेर यस खेलमा प्रदर्शन गर्ने दाबी गरे।

उनले भने, “हामी सुधारिएको खेल प्रदर्शन गर्दै जितको लक्ष्यसहित मैदानमा उत्रनेछौँ। राम्रो सङ्गठन र योजनामा खेल्न सक्यौँ भने चिनियाँ ताइपेइलाई हराएर प्रतियोगिताको समापन सकारात्मक गर्नेछौँ। हामीले जित निकाल्छौँ भन्ने विश्वास छ।”

मुख्य प्रशिक्षक न्यौपानेले नेपाली टोली साफ च्याम्पियनसिपको तयारीमा रहेको सन्दर्भमा घाइते (Injured) खेलाडीहरूलाई आराम दिँदै नयाँ खेलाडीलाई मौका दिइने र आवश्यकताअनुसार सबैलाई मैदानमा उतार्न सकिने जानकारी दिएका छन् ।

यसैगरी, नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले सबै खेलाडी मानसिक र शारीरिक रूपमा तयार रहेको बताएकी छन्।

“हामी राम्रो खेल्छौँ। सबै खेलाडी शारीरिक (Physically) र मानसिक (Mentally) रूपमा तयार भएकाले मैदानमा शतप्रतिशत खेल्नेछौँ,” कप्तान सुब्बाले भनिन्।

पहिलो खेलको नतिजा
यस सिरिजअन्तर्गत मङ्सिर १० गते भएको पहिलो खेलमा नेपाल आयोजक इन्डोनेसियासँग २–१ गोलअन्तरले पराजित भएको थियो। यता, चिनियाँ ताइपेइले भने इन्डोनेसियामाथि ५–० गोलको फराकिलो जित निकालेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट