Techie IT
२०८२ मंसिर २७, शनिबार

सुदूरपश्चिम फाइनलमै ढल्यो, लुम्बिनी लायन्स एनपीएलको नयाँ बादशाह

लुम्बिनीले उपाधि यात्रामा पछिल्ला ६ खेल लगातार जित्दै शानदार पुनरागमन गरेको हो ।


लुम्बिनी लायन्सले साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि जितेको छ । 

फाइनलमा सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनीले एनपीएलको नयाँ च्याम्पियनको उपाधि उचालेको हो । यससँगै सुदूरपश्चिम रोयल्स लगातार दोस्रो पटक उपविजेतामै सीमित भएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स १९.१ ओभरमा ८५ रनमै अलआउट भएको थियो । उक्त योगफल एनपीएल फाइनलकै सबैभन्दा कम स्कोरमध्ये एक हो ।

सुदूरपश्चिमको इनिङ्स ध्वस्त पार्ने क्रममा लुम्बिनीका कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रम्पलम्यान चम्किए । तीनै जनाले समान ३–३ विकेट लिए । रोहितले ११औँ ओभरमा लगातार तीन विकेट लिँदै ह्याट्रिक पूरा गरे । उनले ४ ओभरमा जम्मा १२ रन खर्चिए । ट्रम्पलम्यानले २.१ ओभरमा मात्र ३ रन खर्चेर ३ विकेट लिए भने शेर मल्लले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिएका थिए ।

सुदूरपश्चिमका लागि ओपनर इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए । कप्तान दीपेन्द्र सिंह ऐरीले १३, हर्मित सिंह र स्कट कुगेलेइनले समान १०–१० रन जोडेका थिए । अन्य ब्याटरहरू दोहोरो अंकमा पुग्न सकेनन् ।

८६ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले ९ ओभरमै लक्ष्य पूरा गर्दै च्याम्पियन बन्न सफल भएको छ । ओपनर दिनेश अधिकारीले विस्फोटक ब्याटिङ गर्दै १३ बलमा १ चौका र ५ छक्कासहित ४२ रन बनाएका थिए । पहिलो ओभरमै सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीलाई ४ छक्का प्रहार गर्दै लुम्बिनीले २७ रन जोडेको थियो ।

दिनेशले डार्सी सर्टसँग पहिलो विकेटका लागि ४ ओभरमै ५८ रनको साझेदारी गरे । सर्ट १३ रन बनाएर आउट भएका थिए । त्यसपछि हेमन्त धामीले दिनेश र सर्ट दुवैलाई आउट गर्दै साझेदारी तोडेका थिए ।

लुम्बिनीले उपाधि यात्रामा पछिल्ला ६ खेल लगातार जित्दै शानदार पुनरागमन गरेको हो । लिग चरणको सुरुवातमा कमजोर प्रदर्शन गरे पनि निर्णायक खेलहरूमा उत्कृष्ट खेल प्रदर्शन गर्दै लुम्बिनीले एनपीएलको उपाधि हात पारेको हो ।

यस जितसँगै लुम्बिनी लायन्सले आफ्नो इतिहासमा पहिलो पटक एनपीएल उपाधि जित्दै नयाँ च्याम्पियनका रूपमा नाम दर्ज गरेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट