प्रथम कावासोती गोल्डकप फुटबल प्रतियोगिता–२०८२ आजदेखि सुरु हुँदै
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित प्रथम कावासोती गोल्डकप फुटबल प्रतियोगिता–२०८२ आजदेखि सुरु हुँदैछ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१६, डण्डामा सुरु हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी पुलिस क्लब र आयोजक टिम कावासोती ‘ए’ बीच प्रतिस्पर्धा हुने आयोजक संस्थाका अध्यक्ष तेजनारायण अर्यालले जानकारी दिए।
सनलाइट सामुदायिक विकास केन्द्रको आयोजनामा कावासोती नगरपालिकाको प्रवर्द्धन तथा कावासोती नगरपालिका–१६ र नवलपुर जिल्ला फुटबल सङ्घको समन्वयमा प्रतियोगिता सञ्चालन हुन लागेको हो।
प्रतियोगितामा देशभरका १२ टोली सहभागी हुनेछन्। सबै खेलहरू कावासोती–१६, डण्डा बजारस्थित सनलाइट सामुदायिक विकास केन्द्रको खेल मैदानमा आयोजना गरिने छन्।
प्रतियोगिताको विजेता टोलीले तीन लाख एक हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टोलीले एक लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ। यस्तै, सेमिफाइनलमा प्रवेश गर्ने दुई टोलीलाई जनही २५–२५ हजार रुपैयाँ प्रदान गरिने खेलका आर्थिक संयोजक तेजबहादुर केसीले जानकारी दिए।
आयोजकका अनुसार प्रतियोगिताले स्थानीय खेलाडीको क्षमता अभिवृद्धि गर्नुका साथै युवालाई खेलकुदतर्फ आकर्षित गर्ने र कावासोती क्षेत्रलाई खेल पर्यटनको केन्द्रका रूपमा विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। प्रतियोगिता पुस १६ गतेसम्म सञ्चालन हुनेछ।
पहिलोपटक कावासोतीमा गोल्डकप आयोजना गर्न लागिएको उल्लेख गर्दै अध्यक्ष अर्यालले आगामी वर्षहरूमा समेत यसलाई निरन्तरता दिइने बताए।



तपाईको प्रतिक्रिया दिनुहोस