पोखरामा साफ यू–१९ महिला च्याम्पियनसिप भोलिदेखि सुरु हुने
पोखरा रङ्गशालाभित्रको फुटबल मैदानमा भोलिदेखि सुरु हुने दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यू–१९ महिला च्याम्पियनसिपका लागि सम्पूर्ण तयारी पूरा भएको छ।
प्रतियोगिताको उद्घाटन खेल भोलि दिउँसो १२ बजे बङ्गलादेश र भुटानबीच हुनेछ। त्यसपछि आयोजक नेपालले दिउँसो ३ बजे भारतसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगितामा नेपालसहित भारत, भुटान र बङ्गलादेश गरी चार राष्ट्र सहभागी छन्।
आज पोखरामा आयोजित ‘प्रि–म्याच कन्फ्रेन्स’मा चारै देशका प्रशिक्षक र टोलीका कप्तानले युवा खेलाडीबाट उत्कृष्ट प्रदर्शनको अपेक्षा गर्दै उपाधि जित्ने लक्ष्य रहेको बताएका छन्। नेपाली यू–१९ महिला टोलीका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले घरेलु मैदान र समर्थकको साथले सकारात्मक नतिजा ल्याउने विश्वास व्यक्त गरे। ‘तयारी राम्रै भएको छ। घरेलु मैदान र समर्थकको साथ छ, पक्कै राम्रो परिणाम दिनेछौँ,’ उनले भने।
कप्तान सुशीला केसीले छोटो समयमा टोलीले धेरै सिकेको र प्रदर्शनमा सुधार आएको उल्लेख गर्दै घरेलु मैदानमा राम्रो खेल प्रस्तुत गर्ने बताइन्। बङ्गलादेशकी प्रशिक्षक बेटर बटलरले प्रतियोगिताले नयाँ खेलाडीलाई अवसर र सिकाइको मौका दिएको बताइन्। भारतकी प्रशिक्षक पामेला कोन्टीले युवा टोली निकै उत्साहित रहेको भन्दै उपाधि जित्ने लक्ष्यसहित नेपालसँगको खेल कठिन हुने अनुमान गरिन्।
भुटानकी प्रशिक्षक टङ्का माया घल्लीले टोली राम्रो तयारीसहित आएको बताउँदै उपाधिभन्दा पनि महिला फुटबलको स्तर विकासमा जोड दिएको उल्लेख गरिन्।
साफको समन्वय तथा अखिल नेपाल फुटबल महासङ्घ (एन्फा) को आयोजनामा हुने प्रतियोगिता ‘राउन्ड रोबिन लिग’ प्रणालीमा सञ्चालन हुनेछ, जसअनुसार प्रत्येक टोलीले अन्य टोलीसँग एक–एक खेल खेल्नेछ।
लिग चरणपछि शीर्ष दुई टोली माघ २४ गते हुने फाइनल खेलमा उपाधिका लागि भिड्नेछन्। दर्शकका लागि सामान्य प्यारापिटतर्फ २०० रुपैयाँ र भिआइपीतर्फ ५०० रुपैयाँ टिकटको व्यवस्था गरिएको एन्फाले जनाएको छ। प्रतियोगिता सम्पन्न गर्न करिब दुई करोड ४५ लाख १५ हजार २९० रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस