Techie IT
२०८२ फागुन ९, शनिबार

उदयपुरमा राष्ट्रिय महिला फुटबलको उपाधि एपिएफलाई, आर्मी २–१ ले पराजित


उदयपुरको गाईघाटस्थित थरुहट रंगशाला मैदानमा सम्पन्न राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपिएफ)ले जितेको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार फाइनल खेलमा एपिएफले त्रिभुवन आर्मी फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि कब्जा गरेको हो।

एपिएफका तर्फबाट गीता राना र रेनुका नगरकोटीले एक–एक गोल गरे भने आर्मीका लागि जेनीफर राणाले एक गोल फर्काइन्।

प्रतियोगितामा विजेता एपिएफले ७ लाख ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता आर्मीले ५ लाख रुपैयाँ पुरस्कार पाएको एन्फा महासचिव किरण राईले जानकारी दिए।

फाइनल खेलकी ‘प्लेयर अफ द म्याच’ एपिएफकी गीता राना घोषित भइन्। उनले ७ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन्। प्रतियोगितामा सर्वाधिक गोल गर्ने एपिएफकी रश्मीकुमारी घिसिङलाई ५० हजार रुपैयाँ प्रदान गरिएको आयोजकले जनाएको छ।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट टिम नेपाल प्रहरी घोषित भएको छ। प्रहरी टोलीलाई ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ। उत्कृष्ट गोलरक्षक एपिएफकी अञ्जना राना मगर र प्रतियोगिताकी उत्कृष्ट खेलाडी आर्मीकी दीपा शाही घोषित भइन्। दुवैलाई जनही ५० हजार रुपैयाँ प्रदान गरिएको आयोजकले जनाएको छ।

पुरस्कार वितरण कार्यक्रममा त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेत, कोशी प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवार, एन्फा महासचिव किरण राई तथा नेपाली सेनाको १८ नम्बर बाहिनीका प्रमुख विमल बस्नेत सहभागी थिए।

फागुन १ गतेदेखि सुरु भएको प्रतियोगितामा १० टोली सहभागी भएका थिए। नकआउट प्रणालीमा सञ्चालन गरिएको यो प्रतियोगिता नेपालमा पहिलोपटक उदयपुरमा आयोजना गरिएको हो। प्रतियोगिता आर्थिक सहयोग FIFAको तथा रमपम चाउचाउको प्रायोजनमा सम्पन्न भएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट