दोस्रो मुख्यमन्त्री कप भलिबलको उपाधि गुल्मीलाई, फाइनलमा नवलपरासी पराजित
दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि गुल्मीले जितेको छ। फाइनल खेलमा नवलपरासीलाई ३–० को सोझो सेटमा पराजित गर्दै साविक विजेता गुल्मीले लगातार दोस्रो पटक उपाधि आफ्नो पोल्टामा पारेको हो।
गुल्मीले खेलको सुरुदेखि नै दबाब कायम राख्दै नवलपरासीलाई पहिलो सेटमा २५–१५, दोस्रो सेटमा २५–१३ र तेस्रो सेटमा २५–१५ को सहज अन्तरले पाखा लगाएको थियो।
उपाधिसँगै गुल्मीले नगद १ लाख रुपैयाँ, ट्रफी र मेडल प्राप्त गरेको छ। उपविजेतामा चित्त बुझाएको नवलपरासीले ६५ हजार रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पारेको छ।
प्रतियोगितामा रूपन्देही तेस्रो र प्युठान चौथो भएका छन्। तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा रूपन्देहीले प्युठानलाई ३–१ को सेटमा पराजित गर्यो। जितसँगै रूपन्देहीले ३५ हजार र चौथो भएको प्युठानले १५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
चैत २५ गतेदेखि सुरु भएको यस प्रदेशस्तरीय प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका टोलीहरूको सहभागिता रहेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस