Techie IT
२०८३ असार ११, बिहीबार

मोरक्कोको शानदार पुनरागमन, हाइटीलाई ४-२ ले हराउँदै नकआउट चरणमा प्रवेश


हाइटीको कडा चुनौतीलाई पन्छाउँदै मोरक्कोले फिफा विश्वकप २०२६ को अन्तिम ३२ (नकआउट चरण) मा स्थान सुरक्षित गरेको छ। समूह ‘सी’ अन्तर्गत बुधबार राति एटलान्टामा भएको रोमाञ्चक खेलमा मोरक्कोले दुई पटक पछि परेको अवस्था उल्टाउँदै हाइटीलाई ४-२ ले पराजित गरेको हो।

जित हासिल गरे पनि मोरक्को गोलअन्तरका आधारमा ब्राजिलभन्दा पछि पर्दै समूह उपविजेतामा सीमित रह्यो। मियामीमा भएको अर्को खेलमा ब्राजिलले स्कटल्यान्डलाई ३-० ले हराएपछि समान सात अंक भए पनि ब्राजिल समूह विजेता बनेको हो।

सन् १९७४ पछि पहिलो पटक विश्वकप खेलिरहेको हाइटीले प्रतियोगितामा कुनै अंक जोड्न नसके पनि ५२ वर्षपछि विश्वकपमा गोल गर्न सफल हुँदै समर्थकहरूको मन जित्यो। स्कटल्यान्ड र ब्राजिलसँग पराजित भइसकेको हाइटी यस हारसँगै अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

खेलको १०औँ मिनेटमै जाँ-केभिन डुभेर्नेले दिएको क्रसलाई लेनी जोसेफले छोएपछि बल मोरक्कोका गोलरक्षक यासिन बोनोमा लागेर जालीभित्र पुगेको थियो। आत्मघाती गोलमार्फत हाइटीले अप्रत्याशित अग्रता लिँदै विश्वकपमा आफ्नो लामो गोल प्रतीक्षा अन्त्य गर्‍यो।

मोरक्कोले ३९औँ मिनेटमा कप्तान अस्राफ हाकिमीको गोलबाट खेल बराबरीमा ल्यायो। हाइटीका ३८ वर्षीय गोलकिपर जोह्नी प्लासिदेले बिलाल एल खन्नुसको प्रहार नियन्त्रण गर्न नसक्दा फर्किएको बललाई हाकिमीले सहजै गोलमा परिणत गरेका थिए।

तर, चार मिनेटपछि हाइटी फेरि अगाडि बढ्यो। विल्सन इसिडोरले क्षेत्रबाहिरबाट गरेको शक्तिशाली प्रहार सिधै माथिल्लो कुनामा पुगेपछि हाइटीले २-१ को अग्रता बनायो।

पहिलो हाफको इन्जुरी समयमा हाकिमीको तल्लो क्रसमा इस्माइल साइबारीले गोल गर्दै मोरक्कोलाई पुनः २-२ को बराबरीमा फर्काए। प्रतियोगितामा यो साइबारीको तेस्रो गोल थियो।

दोस्रो हाफमा मोरक्कोले खेलमा पूर्ण नियन्त्रण जमायो। ७८औँ मिनेटमा वैकल्पिक खेलाडी सुफियान रहिमीको शक्तिशाली प्रहार हाइटीका एक डिफेन्डरमा लाग्दै जालीभित्र पुगेपछि मोरक्कोले पहिलो पटक अग्रता लियो।

त्यसपछि ८९औँ मिनेटमा रहिमीले नै रक्षापङ्क्तिबाट बल खोसेर दिएको पासमा गेसिम यासिनले खाली पोस्टमा गोल गर्दै मोरक्कोको ४-२ को जित सुनिश्चित गरे।

मोरक्कोका प्रशिक्षक मोहम्मद उआहबीले ब्राजिलसँग बराबरी र स्कटल्यान्डमाथिको जित निकालेको टोलीमा चार परिवर्तन गरेका थिए। खेलको नतिजा मोरक्कोको पक्षमा गए पनि ब्राजिलले स्कटल्यान्डविरुद्ध सहज जित निकालेकाले मोरक्को समूह विजेता बन्न सकेन।

तीन खेलबाट सात अंक जोडेको मोरक्को अब नकआउट चरणमा प्रवेश गरेको छ। उपविजेताका रूपमा अघि बढेको मोरक्कोले सोमबार मोन्टेरेमा नेदरल्यान्ड्स वा जापानमध्ये एक टोलीसँग अन्तिम ३२ को खेल खेल्ने सम्भावना रहेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट