Techie IT
२०८३ असार २०, शनिबार

३ वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजकमा रेड बुल


नेपाल प्रिमियर लिग (एनपीएल) को टोली सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक (मेन स्पोन्सर) का रूपमा विश्वप्रसिद्ध ऊर्जा पेय पदार्थ 'रेड बुल' भित्रिएको छ। दुई पक्षबीच भएको व्यावसायिक सम्झौता अनुसार रेड बुलले आगामी तीन वर्षसम्म सुदूरपश्चिम रोयल्सलाई मुख्य प्रायोजकका रूपमा साथ दिनेछ।

एनपीएलकै सबैभन्दा ठूलो समर्थक आधार र लोकप्रियता कमाएको सुदूरपश्चिम रोयल्स र युवामाझ अत्यधिक रुचाइएको ब्रान्ड रेड बुलबीचको यो सहकार्यले टोलीको व्यावसायिक विस्तार र ब्रान्ड मूल्यलाई थप मजबुत बनाउने विश्वास लिइएको छ।

साझेदारीबारे खुसी व्यक्त गर्दै सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्काले भने, “रेड बुलजस्तो बहुराष्ट्रिय ब्रान्डलाई मुख्य प्रायोजकका रूपमा भित्राउन पाउँदा हामी उत्साहित छौँ। यो साझेदारीले हाम्रो व्यावसायिक यात्रालाई मात्र नभई समग्र नेपाली क्रिकेटलाई नै नयाँ उचाइमा पुर्‍याउन मद्दत गर्नेछ।” उनले एनपीएलमा सबैभन्दा पहिले मुख्य प्रायोजक घोषणा गरेर टोलीले नयाँ सिजनको उत्साहजनक सुरुवात गरेको समेत दाबी गरे।

त्यस्तै, सारस बेभरेज (रेड बुल) का प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले सुदूरपश्चिम रोयल्सको क्रेज, उत्कृष्ट प्रदर्शन र युवामाझको लोकप्रियताकै कारण आफूहरू जोडिएको बताए। रेड बुल र सुदूरपश्चिम रोयल्स दुवैले ऊर्जा, जोश र उत्कृष्टताको भावना प्रतिनिधित्व गर्ने उल्लेख गर्दै उनले यो सहकार्यले टोलीमा थप ऊर्जा भर्ने र ब्रान्डलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरे।

यस ठूलो व्यावसायिक सम्झौताले नेपाली क्रिकेटको व्यावसायिक विकास, खेलकुद मार्केटिङको विस्तार र एनपीएलको ब्रान्ड भ्यालु बढाउन कोशेढुङ्गा साबित हुने अपेक्षा दुवै पक्षको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट