अस्ट्रेलियालाई स्तब्ध पार्दै इजिप्टको ऐतिहासिक छलाङ, पहिलोपटक विश्वकपको अन्तिम १६ मा प्रवेश
इजिप्टले फिफा विश्वकप २०२६ मा नयाँ इतिहास रच्दै पहिलोपटक प्रतियोगिताको अन्तिम १६ (नकआउट चरण) मा स्थान बनाएको छ। डालास (टेक्सास) स्टेडियममा भएको रोमाञ्चक र तनावपूर्ण अन्तिम–३२ को खेलमा अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै इजिप्टले ऐतिहासिक सफलता हात पारेको हो।
निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो। सुटआउटमा इजिप्टका होसाम अब्देलमागुइदले निर्णायक गोल गर्दै टोलीलाई उत्सव मनाउने अवसर दिलाए। अब इजिप्टले क्वाटरफाइनल प्रवेशका लागि आगामी मंगलबार एटलान्टामा लियोनल मेसीको अर्जेन्टिना वा केप भर्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
सन् १९३४ पछि पहिलोपटक नकआउट खेल खेलिरहेको इजिप्टले खेलको १३औँ मिनेटमै इमाम आशौरको उत्कृष्ट हेडरमार्फत सुरुवाती अग्रता लिएको थियो। करिम हाफेजको क्रसलाई आशौरले जाली चुमाउँदै जारी प्रतियोगितामा आफ्नो व्यक्तिगत दोस्रो गोल पूरा गरे। यो गोलसँगै इजिप्टले यस विश्वकपमा कुल ६ गोल गरिसकेको छ, जुन उसको अघिल्ला तीन सहभागिताहरू (१९३४, १९९० र २०१८) को कुल गोल संख्या भन्दा बढी हो।
सुरुवातमै क्रिस्टियन भोल्पाटोको प्रहार क्रसबारमा ठोकिएपछि दुर्भाग्य भोगेको अस्ट्रेलियाले ५५औँ मिनेटमा उपहार गोल पायो। इजिप्टका डिफेन्डर मोहम्मद हानीले दबाबमा आफ्नै पोस्टमा हेड गर्दा आत्मघाती गोल हुन पुग्यो र खेल १-१ को बराबरीमा आयो। हानी एउटै विश्वकपमा दुईवटा आत्मघाती गोल गर्ने फुटबल इतिहासकै दोस्रो खेलाडी बनेका छन्।
ह्यामस्ट्रिङको चोटबाट फर्किएका इजिप्टका कप्तान मोहम्मद सलाहले खेलभरि खासै प्रभाव जमाउन सकेनन्। खेलको अन्तिम समयमा सलाहको क्रसमा रामी राबियाले गरेको प्रहारलाई अस्ट्रेलियाका गोलकिपर प्याट्रिक बीचले उत्कृष्ट बचाउ गर्दै खेललाई अतिरिक्त समयमा धकेलेका थिए।
पेनाल्टी सुटआउटका लागि अस्ट्रेलियाका प्रशिक्षक टोनी पोपोभिचले अन्तिम समयमा अनुभवी गोलकिपर म्याथ्यु रायनलाई मैदानमा उतारे पनि उनको रणनीति सफल हुन सकेन। अस्ट्रेलियाका पहिलो पेनाल्टी प्रहारकर्ता ह्यारी साउटर र त्यसपछि १८ वर्षीय लुकास हेरिङ्टनको प्रहार क्रसबारमा लागेर बाहिरिएपछि अस्ट्रेलिया दबाबमा आयो। अर्कोतर्फ, सलाहसहित इजिप्टका खेलाडीहरूले सहजै गोल गरे भने अब्देलमागुइदको अन्तिम प्रहार गोलमा परिणत भएसँगै इजिप्ट ४–२ ले विजयी भयो।
जित लगत्तै कप्तान सलाह मैदानमै भावुक बन्दै आँसु झारेका थिए भने अस्ट्रेलियाली क्याम्पमा निराशा छाएको थियो। समूह चरणमा न्युजिल्यान्डलाई हराएर पहिलो जित दर्ता गरेको इजिप्टले अर्को बलियो टोली अस्ट्रेलियालाई पाखा लगाउँदै विश्वकपमा आफ्नो सुखद यात्रा जारी राखेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस