ट्रम्पको हरेक हत्कन्डाका विच पनि अमेरिकाको विश्वकप यात्रा समाप्त
सह-आयोजक संयुक्त राज्य अमेरिकाको फिफा विश्वकप २०२६ को यात्रा अन्तिम–१६ बाटै समाप्त भएको छ।
सिएटल स्टेडियममा ६६ हजारभन्दा बढी घरेलु दर्शकहरूको अगाडि भएको एकपक्षीय खेलमा बेल्जियमले अमेरिकालाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो। बेल्जियमको सानदार जितमा युवा स्टार चार्ल्स डे केटेलारेले दुई गोल र एक असिस्ट गर्दै निर्णायक भूमिका खेले।
यो पराजयसँगै अमेरिका पनि अन्य दुई सह-आयोजक क्यानडा र मेक्सिकोकै नियति भोग्दै नकआउट चरणबाटै बाहिरिन पुगेको छ। विश्वकप इतिहासमा बेल्जियमले अमेरिकालाई पराजित गरेको यो १२ वर्षमा दोस्रो पटक हो । यसअघि २०१४ को विश्वकपमा पनि बेल्जियमले अमेरिकालाई २–१ ले हराएको थियो। यस जितसँगै बेल्जियमले आफ्नो अपराजित यात्रालाई १८ खेल पुर्याएको छ र अब उसले आगामी शुक्रबार सेमिफाइनल प्रवेशका लागि स्पेनको सामना गर्नेछ।
ट्रम्पको आग्रह र बालोगनको विवादास्पद 'इन्ट्री'
खेलअघि अमेरिकी स्ट्राइकर फोलारिन बालोगनमाथिको प्रतिबन्ध फुकुवाको विषय विश्वभर चर्चा र विवादको केन्द्र बनेको थाल्यो। बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध रातो कार्ड पाएका बालोगनको प्रतिबन्ध पुनरावलोकन गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफासँग विशेष आग्रह गरेका थिए। फिफाले विवादास्पद रूपमा उक्त प्रतिबन्ध स्थगित गरेपछि बालोगन सुरुआती टोलीमा समेटिएका थिए। यसको फुटबल विश्लेषकहरूले तीव्र आलोचना गरे पनि घरेलु समर्थकहरूले रंगशालामा ठूलो उत्साहका साथ स्वागत गरे। यद्यपि, मैदानमा बालोगनको जादु चल्न सकेन।
पहिलो हाफमै बेल्जियमको दबाब
बेल्जियमका मुख्य प्रशिक्षक रुडी गार्सियाले केभिन डे ब्रुयन र जेरेमी डोकुजस्ता स्टार खेलाडीलाई बेन्चमा राख्दै अप्रत्याशित रणनीति अपनाएका थिए, जुन सफल साबित भयो। खेलको नवौँ मिनेटमै निकोलस रास्किनको क्रसमा चार्ल्स डे केटेलारेले उत्कृष्ट फिनिसिङ गर्दै बेल्जियमलाई १-० को अग्रता दिलाए। जारी विश्वकपमा अमेरिकाले पहिलो गोल ब्यहोरेको यो नै पहिलो पटक हो।
खेलको ३०औँ मिनेटमा बालोगनमाथि फल भएपछि अमेरिकाले फ्रिकिकको अवसर पायो। मालिक टिलम्यानले डिबक्स बाहिरबाट प्रहार गरेको फ्रिकिक बेल्जियमका खेलाडीलाई लाग्दै सिधै गोलमा परिणत भएपछि खेल १–१ को बराबरीमा आयो। तर, अमेरिकाको यो खुसी मात्र ६१ सेकेन्ड पनि टिकेन। ३३औँ मिनेटमा लियान्ड्रो ट्रोसार्डको क्रसमा डे केटेलारेले हेडमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई पुनः २–१ को अग्रता दिलाए।
दोस्रो हाफमा अमेरिका खेलमा फर्किने प्रयासमा आक्रामक देखिए पनि ५७औँ मिनेटमा गोलकिपर म्याट फ्रिजको एउटा गम्भीर गल्ती महँगो साबित भयो। लामो पास नियन्त्रण गर्ने क्रममा गोलकिपर अलमलिएपछि डे केटेलारेले बल खोसेर हान्स भानाकेनलाई पास दिएका थिए । यसलाई उनले ३५ यार्ड टाढाबाट खाली पोस्टमा प्रहार गर्दै स्कोर ३–१ पुर्याए।
अमेरिकाका लागि अर्को ठूलो धक्का तब लाग्यो, जब खेलको ५२औँ मिनेटमा प्रहार गर्ने क्रममा स्टार कप्तान क्रिस्टियन पुलिसिचको दाहिने खुट्टामा चोट लाग्यो। उनी ५९औँ मिनेटमा मैदान छाड्न बाध्य भएपछि अमेरिकी आक्रमण पूर्ण रूपमा ध्वस्त भयो। खेलको इन्जुरी समयको तेस्रो मिनेटमा अमेरिकी डिफेन्डर क्रिस रिचार्ड्सको गल्तीको फाइदा उठाउँदै वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका भेट्रान स्ट्राइकर रोमेलु लुकाकुले चौथो गोल गरेर बेल्जियमको ४–१ को सानदार जित सुनिश्चित गरे।



तपाईको प्रतिक्रिया दिनुहोस