Techie IT
२०८३ असार ३०, मंगलबार

विश्वकपको अन्तिम युद्ध: फुटबलका चार महाशक्ति आमनेसामने


फिफा विश्वकप २०२६ अन्तिम चरणमा पुगेको छ। जुन ११ मा सुरु भएको विश्व फुटबलको महाकुम्भबाट ४४ टोली घर फर्किसकेका छन् भने अब उपाधि दौडमा चार टोली मात्रै बाँकी छन् । फ्रान्स, अर्जेन्टिना, स्पेन र इङ्ग्ल्याण्ड। अब यीमध्ये लगातार दुई खेल जित्ने टोलीले जुलाई १९ मा न्यूयोर्कको न्यु जर्सी स्टेडियममा विश्व च्याम्पियनको ताज पहिरिनेछ।

यसपटकको सेमिफाइनल अझ रोचक बनेको छ, किनभने फिफा वरीयताका शीर्ष चार टोली नै अन्तिम चारमा पुगेका छन्। यी चारै टोली विगतमा विश्वकप जितिसकेका छन् र सामूहिक रूपमा आठ पटक विश्वकपको ट्रफी उचालिसकेका छन्।

पहिलो सेमिफाइनलमा विश्व नम्बर–१ फ्रान्सले तेस्रो वरीयताको स्पेनसँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो सेमिफाइनलमा साविक विजेता तथा विश्व नम्बर–२ अर्जेन्टिनाले चौथो वरीयताको इङ्ग्ल्याण्डसँग भिड्नेछ। विजेता टोलीहरू फाइनलमा प्रवेश गर्नेछन् भने पराजित टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।

अर्जेन्टिना: अनुभव छ, तर प्रदर्शनले प्रश्न उठाएको छ

साविक विजेता अर्जेन्टिना लियोनल मेसीको नेतृत्वमा उपाधि रक्षा अभियानमा छ। तर प्रतियोगिताभर टोलीले प्रभावशाली प्रदर्शन गर्न सकेको छैन। अल्जेरिया, अष्ट्रिया, जोर्डन, केप भर्डे, इजिप्ट र स्विट्जरल्यान्डजस्ता तुलनात्मक रूपमा सहज प्रतिद्वन्द्वी पार गरे पनि अधिकांश खेलमा अर्जेन्टिनाले अन्तिम समयसम्म संघर्ष गर्नुपरेको थियो।

केप भर्डे, इजिप्ट र स्विट्जरल्यान्डविरुद्ध अर्जेन्टिनाले निकै कठिन जित निकालेको थियो। टोलीले दबाबमा पनि जित निकाल्ने मानसिकता देखाएको भए पनि समग्र खेलस्तरले आलोचना खेपिरहेको छ। अब सेमिफाइनलमा इङ्ग्ल्याण्डजस्तो बलियो टोलीसँग सामना गर्दैछ। मेसी आफ्नो उत्कृष्ट लयमा फर्किए र टोलीको रक्षा पङ्क्तिले समन्वय कायम राख्न सके अर्जेन्टिना फाइनल पुग्न सक्छ। तर हालसम्मको प्रदर्शन दोहोरिए इङ्ग्ल्याण्डविरुद्ध कठिन परीक्षा हुनेछ।

इङ्ग्ल्याण्ड: आत्मविश्वास बलियो, इतिहास बदल्ने लक्ष्य

इङ्ग्ल्याण्ड यसपटक आफ्नो उत्कृष्ट लयमा नदेखिए पनि सेमिफाइनलसम्मको यात्रा तय गर्न सफल भएको छ। प्रशिक्षक थोमस टुखेल स्वयंले पनि टोली भाग्यशाली बनेर अन्तिम चारमा पुगेको स्वीकार गरिसकेका छन्। ह्यारी केनको अनुभव, जुड बेलिङ्घमको उत्कृष्ट मिडफिल्ड नियन्त्रण तथा बुकायो साका, एन्थोनी गोर्डन र मार्कस रासफोर्डको तीव्र आक्रमण इङ्ग्ल्याण्डका मुख्य हतियार हुन्।

अर्जेन्टिनाको उमेर ढल्कँदै गएको टोलीले गतिशील विङ्गरहरूलाई रोक्न संघर्ष गरिरहेको देखिएकाले इङ्ग्ल्याण्डले त्यसको फाइदा उठाउने अपेक्षा गरिएको छ। ६० वर्षपछि दोस्रो विश्वकप जित्ने सपना पूरा गर्न इङ्ग्ल्याण्डलाई अझ एक उत्कृष्ट प्रदर्शन आवश्यक छ।

स्पेन: बलियो रक्षा, तर फिनिसिङमा चुनौती

स्पेन यस प्रतियोगिताको सबैभन्दा अनुशासित र संगठित टोलीमध्ये एक हो। प्रतियोगिताभर उत्कृष्ट रक्षा प्रदर्शन गर्दै उसले ६ खेलमा केवल एक गोल मात्र बेहोरेको छ। लामिन यामाल, निको विलियम्स, दानी ओल्मो, फाबियन रुइज र मिकेल ओयारजाबालजस्ता खेलाडीले निरन्तर अवसर सिर्जना गरे पनि गोल गर्ने क्षमतामा केही कमजोरी देखिएको छ।

युवा डिफेन्डर पाउ कुबार्सीले प्रभावशाली प्रदर्शन गरेका छन्, तर अब उनी किलियन एम्बाप्पे, माइकल ओलिसे र उस्मान डेम्बेलेजस्ता विश्वस्तरीय आक्रमणकर्ताको वास्तविक परीक्षा सामना गर्दैछन्।

स्पेनले पछिल्ला दुई भेटमा फ्रान्सलाई हराएको इतिहास भए पनि लगातार तेस्रो जित निकाल्न भने सहज देखिँदैन।

फ्रान्स: सबैभन्दा बलियो उपाधि दाबेदार

फ्रान्सलाई धेरै विश्लेषकले यस विश्वकपको सबैभन्दा बलियो दाबेदार मानेका छन्। टोलीले प्रतियोगिताभर आक्रामक र सन्तुलित फुटबल खेल्दै सहज रूपमा सेमिफाइनल यात्रा तय गरेको छ। आक्रमणमा किलियन एम्बाप्पे, माइकल ओलिसे, उस्मान डेम्बेले, डिजिरे डुए र ब्राड्ली बारकोलाको संयोजन विश्वकै खतरनाक आक्रमण पङ्क्तिमध्ये एक मानिएको छ। तीव्र काउन्टर-अट्याक, उत्कृष्ट गति र प्रभावकारी फिनिसिङ फ्रान्सको सबैभन्दा ठूलो शक्ति हो।

रक्षा पङ्क्तिले पनि अहिलेसम्म निकै कम गल्ती गरेको छ। स्पेनविरुद्धको सेमिफाइनललाई टोलीको सबैभन्दा कठिन परीक्षा मानिए पनि फ्रान्सलाई फाइनल पुग्ने प्रमुख दाबेदारका रूपमा हेरिएको छ।

विश्व फुटबलका चार महाशक्ति अब एक–अर्काको बाटो रोक्न मैदानमा उत्रिनेछन्। दुई खेलपछि मात्र नयाँ विश्व च्याम्पियनको टुंगो लाग्नेछ। अब सबैभन्दा ठूलो प्रश्न एउटै छ कि यसपटक विश्वकपको ट्रफी कसले उचाल्ला?



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट