Techie IT
२०८३ मंसिर १३, शनिबार

भारतमा लोकसभा सिट संख्या बढाएर ८५० पुर्‍याउने मोदी सरकारको तयारी

हामीले नारी शक्तिसँग वाचा गरेका थियौँ र त्यसलाई पूरा गर्न प्रतिबद्ध छौँ


नयाँ दिल्ली । नरेन्द्र मोदी नेतृत्वको भारत सरकारले लोकसभाको अधिकतम सदस्य संख्या ५५० बाट बढाएर ८५० पुर्‍याउने तयारी गरेको छ । राज्यहरूबीचको सिट बाँडफाँटको अनुपात सन् २०५१ सम्म यथावत् राख्ने प्रस्तावसहित सरकारले नयाँ संविधान संशोधन तथा परिसीमन विधेयक अघि बढाउन लागेको हो ।

शुक्रबार बसेको केन्द्रीय मन्त्रिपरिषद् बैठकले ‘संविधान (१३२औँ संशोधन) विधेयक, २०२६’ लगायत परिसीमनसम्बन्धी विधेयकहरूलाई स्वीकृति दिइसकेको छ । प्रस्तावित विधेयकमा सन् २०११ को जनगणनालाई आधार मानी प्रत्येक राज्य र केन्द्रशासित प्रदेशको लोकसभा सिट संख्या हालको भन्दा समान रूपमा ५० प्रतिशतले बढाउने व्यवस्था छ । यससँगै संसद् र राज्य विधानसभामा महिलाका लागि ३३ प्रतिशत आरक्षण कार्यान्वयन गर्ने बाटो खोल्ने सरकारको योजना छ ।

यी विधेयकमाथि छलफल गरी पारित गर्न सरकारले आगामी सोमबार (नोभेम्बर ३०) देखि संसद्को विशेष अधिवेशन आह्वान गरेको छ । लोकसभा नोभेम्बर ३० देखि डिसेम्बर ३ सम्म र राज्यसभा डिसेम्बर २ देखि बस्ने कार्यक्रम तय भएको छ ।

विधेयक स्वीकृत भएसँगै प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत महिलाको अधिकार सुनिश्चित गर्न सरकारले सबै अवरोध हटाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले लेखेका छन्, “हामीले नारी शक्तिसँग वाचा गरेका थियौँ र त्यसलाई पूरा गर्न प्रतिबद्ध छौँ ।”

यस्तै, केन्द्रीय गृहमन्त्री अमित शाहले मन्त्रिपरिषद्को निर्णयको स्वागत गर्दै महिला आरक्षणको दशकौँ लामो प्रतीक्षा अब अन्त्य हुन लागेको बताए । ‘नारी शक्ति वन्दन ऐन अन्तर्गत लोकसभा र राज्य विधानसभामा महिलालाई ३३ प्रतिशत आरक्षण दिने व्यवस्था अब यथार्थमा परिणत हुनेछ,’ शाहले उल्लेख गरेका छन् । उनले विधेयक पारित गर्न सबै राजनीतिक दललाई सहयोगका लागि अपिलसमेत गरेका छन् ।

विपक्षीको विरोध र क्षेत्रीय दलको सर्त
प्रमुख प्रतिपक्षी दल कांग्रेसलगायत विपक्षी दलहरूले परिसीमन प्रक्रियाले राज्यहरूबीचको राजनीतिक प्रतिनिधित्वमा असन्तुलन ल्याउने र भाजपालाई मात्र राजनीतिक लाभ पुग्ने भन्दै विरोध जनाउँदै आएका छन् । महिला आरक्षणलाई परिसीमनसँग जोड्न नहुने र निर्वाचन क्षेत्र पुनर्निर्धारणमा पर्याप्त छलफल नगरिएको उनीहरूको आरोप छ ।

यद्यपि, दक्षिण भारतीय राज्यहरूको चिन्ता सम्बोधन गर्न सबै राज्यमा समान रूपमा ५० प्रतिशत सिट बढाउने सूत्र ल्याइएपछि केही क्षेत्रीय दलहरू लचिलो देखिएका छन् । तमिलनाडुको सत्तारूढ दल डीएमकेले लोकसभामा राज्यको सिट हिस्सा हालको करिब ७.२ प्रतिशतबाट घट्न नहुने सुनिश्चितता खोजेको छ भने शरद पवार नेतृत्वको राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) ले समान सिट वृद्धिको सर्तमा समर्थन गर्ने संकेत दिएको छ ।

के पारित होला विधेयक ?
सरकारले यसअघि गत अप्रिलमा पनि संविधान संशोधन र परिसीमनसम्बन्धी विधेयक अघि बढाएको थियो । तर, लोकसभामा आवश्यक दुईतिहाइ (३५२ मत) नजुटेपछि विधेयक अस्वीकृत भएको थियो । त्यतिबेला मतदानमा सहभागी ५२८ सांसदमध्ये २९८ जनाले पक्षमा र २३० जनाले विपक्षमा मतदान गरेका थिए ।

यसपटक संशोधित प्रस्तावसहित आएको सत्तारूढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) पहिलेभन्दा बलियो स्थितिमा देखिएको छ । ५४० सदस्यीय वर्तमान लोकसभामा पूर्ण उपस्थिति रहेमा विधेयक पारित गर्न कम्तीमा ३६० मत आवश्यक पर्छ ।

भाजपासँग हाल २४१ सांसद छन् भने गठबन्धनका सहयात्री, तृणमूल कांग्रेसका बागी सांसद र अकाली दलसमेत गरी सरकारको पक्षमा ३१९ मत पुग्ने आकलन छ । यसमा एनसीपी (शरद पवार) का ८ र डीएमकेका २२ सांसदले साथ दिएमा समर्थन संख्या ३५० पुग्नेछ । तैपनि सरकारलाई बहुमतका लागि अझै करिब १० मत अपुग हुने देखिन्छ । यस्तो अवस्थामा वाईएसआरसीपीका ४ सांसद र अन्य साना दलहरूको भूमिका निर्णायक हुने देखिएको छ ।

 

-Agency Inputs



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट