नेपालले नेदरल्याण्ड्सविरुद्ध बलिङ गर्दै, भीम सार्कीको डेब्यू
सार्कीलाई उपकप्तान दिपेन्द्रसिंह ऐरीले डेब्यू क्याप हस्तान्तरण गरेका हुन् ।

स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालले टस जितेको छ ।
स्कटल्याण्ड्सको ग्लासगोमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला बलिङ रोजेका छन् । नेपाल आज लगातार दोस्रो जितको खोजीमा रहेको छ । मङ्गलबार भएको खेलमा नेपालले स्कटल्याण्ड्सलाई २ विकेटले पराजित गरेको थियो ।
त्यसअघि सोमबार भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो । नेदरल्याण्ड्सले भने यस शृङ्खलामा दुई जित निकालेको छ । आइतबार घरेलु टोली स्कटल्याण्डसँग नेदरल्याण्ड्स ३९ रनले पराजित भएको थियो । त्यसपछि नेदरल्याण्ड्सले नेपाललाई तेस्रो सुपर ओभरमा पराजित गरेको थियो भने बुधबार भएको खेलमा स्कटल्याण्ड्सलाई १७ रनले हराएको थियो ।
नेदरल्याण्ड्सविरुद्धको खेलमा भीम सार्कीको डेब्यू
नेदरल्याण्ड्सविरुद्धको आजको खेलमा नेपालका खेलाडी भीम सार्कीले डेब्यू गरेका छन् । सार्कीलाई उपकप्तान दिपेन्द्रसिंह ऐरीले डेब्यू क्याप हस्तान्तरण गरेका हुन् । उनी टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा नेपालका ५२औँ खेलाडी हुन् । जारी सिरिजमा यसअघि किरण ठगुन्ना र रुपेश सिंहले डेब्यू गरेका थिए ।
नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसँगै उपकप्तान ऐरी, कुशल भूर्तेल, लोकेश बम, आसिफ शेख, आरिफ शेख, करण केसी, रुपेश सिंह, सन्दीप लामिछाने र ललितनारायण राजवंशी रहेका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस