Techie IT
२०८२ भाद्र ३०, सोमबार

सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा देउवा दम्पतीमाथिको आक्रमणको भत्सर्ना


काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवामाथि भएको आक्रमणलाई लोकतन्त्र विरोधी र संविधानविरोधी समूहको षड्यन्त्र भएको बताउँदै घोर भत्सर्ना गरेको छ।

जेन–जी आन्दोलनका क्रममा देउवा दम्पतीमाथि भएको कुटपिटपछिको एक सातामा बसेको दलको बैठकले विज्ञप्ति जारी गर्दै भनेको छ, “लोकतन्त्रका लागि जीवनभर अविचलित रूपमा संघर्ष गर्दै आउनुभएका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति देउवा र केन्द्रीय सदस्य राणामाथि भएको सांघातिक आक्रमण लोकतन्त्र नचाहने र कांग्रेसलाई कमजोर पार्न चाहने समूहको घुसपैठबाट भएको हो। यसप्रति हाम्रो गहिरो भत्सर्ना छ।”

मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको बैठकले देउवा दम्पतीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आक्रमणमा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गरेको छ।

बैठकले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको र घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्ने निर्णय पनि गरेको छ।

त्यसैगरी, भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएका हत्या, हिंसा, आक्रमण, लुटपाट, आगजनी र सम्पत्तिको क्षतिसम्बन्धी घटनाको छानबिन गरी दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन संघीय तथा प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको मुख्यमन्त्री शाहका प्रेस सल्लाहकार डम्बर बमले जानकारी दिएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट