कैलालीमा जब युवकको रेटिएको टाउको बोकेर प्रहरी चोकी पुगे....

कैलालीको घोडाघोडी नगरपालिका–८ मा आपसी विवादका क्रममा एक युवकको विभत्स हत्या भएको छ।
शुक्रबार राति खाजा खाने क्रममा भएको विवादपछि २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा कार्यालयका प्रवक्ता राजकुमार सिंहका अनुसार सुर्खेतको चौकुने गाउँपालिका–३ घर भएका बुढाको हत्यामा संलग्न दुई जना युवकले घटनापछि आत्मसमर्पण गरेका छन्।
हत्या पश्चात् धारिलो हतियारले रेटिएको टाउको बोकेर घोडाघोडीकै १८ वर्षीय बलबहादुर बि.क. र १९ वर्षीय गंगा बुढा क्षेत्री इलाका प्रहरी कार्यालय सुखडमा पुगेका थिए। उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मृतक र अभियुक्तहरू स्थानीय खाजा पसलमा बसेर मदिरा सेवन गरिरहेका बेला विवाद भएको थियो। विवाद चर्किएपछि उनीहरूले धारिलो हतियार प्रयोग गरी बुढाको घाँटी रेटेर हत्या गरेका थिए।
सुर्खेतबाट मृतकका आफन्तहरू घटनास्थलतर्फ आइरहेका छन् भने शव अहिले घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस