Techie IT
२०८२ माघ ११, आइतबार

हिउँ पन्छाएपछि दशरथचन्द र जयपृथ्वी राजमार्ग सञ्चालन


हिमपातका कारण गएरातिदेखि अवरुद्ध रहेका सुदूरपहाड क्षेत्रका प्रमुख राजमार्गहरू सञ्चालनमा आएका छन्।

बैतडीको अनारखोली, खोडपे, श्रीभावर, सतबाँझ र देहिमाडौँ क्षेत्रमा भारी हिमपात हुँदा दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग अवरुद्ध भएका थिए। सडकमा जमेको हिउँ यहाँस्थित सडक डिभिजन कार्यालयको जेसीबी प्रयोग गरेर हटाएपछि राजमार्ग पुनः सञ्चालनमा आएका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी निरीक्षक सुरज सिंहका अनुसार राजमार्ग खुलेसँगै गएरातिदेखि बीच बाटोमा अलपत्र परेका यात्रु र सवारीसाधन आ–आफ्नो गन्तव्यतर्फ लागेका छन्। यद्यपि विद्युत् सेवा भने अझै पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन।

शुक्रबार साँझदेखि बैतडीसहित दार्चुला, बझाङ, डोटी र डडेल्धुराका उच्च लेकाली भेगमा वर्षासँगै हिमपात भएको हो। यस वर्ष पहिलोपटक भएको हिउँदे वर्षा र हिमपातले यहाँका किसान खुसी भएका छन्। विगत चार महिनादेखि वर्षा नहुँदा गहुँलगायत हिउँदे बाली सुक्दै गएका थिए।

हिमपातका कारण अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित बनेको छ। यसैबीच, चिसोबाट जोगिन आवश्यक सतर्कता अपनाउन स्वास्थ्यकर्मीहरूले सर्वसाधारणलाई सुझाव दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट