Techie IT
२०८२ फागुन ७, बिहीबार

धनगढीमा रास्वपाको सभामा पत्रकारमाथि दुर्व्यवहार, पत्रकार महासङ्घको कडा आपत्ति


नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा कैलालीको धनगढीमा आयोजित चुनावी सभामा समाचार सङ्कलनका लागि पुगेका पत्रकारहरूलाई रोक लगाइएको तथा दुर्व्यवहार गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

धनगढीमा आयोजित उक्त कार्यक्रममा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह सहभागी भएका थिए। कार्यक्रम कभर गर्न पुगेका सञ्चारकर्मीहरूलाई प्रवेशद्वारमै रोक लगाउँदै दुर्व्यवहार गरिएको महासङ्घले विज्ञप्तिमार्फत जनाएको छ।

महासङ्घका अनुसार आमसभा स्थलमा पुगेका पत्रकारहरूलाई ‘रास्वपाको पास’ बिना प्रवेश नदिने भन्दै धक्का–मुक्का गरिएको थियो।

महासचिव शिवराज भट्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “समाचार सङ्कलनका लागि गएका पत्रकारहरूलाई रास्वपाको पास बिना जान नमिल्ने भन्दै धक्का–मुक्का गरिएको घटना निन्दनीय छ। रास्वपाका कार्यकर्ताले गरेको यस्तो कार्य नेपालको संविधानको प्रस्तावनामै सुनिश्चित पूर्ण प्रेस स्वतन्त्रताको अधिकारविपरीत रहेको महासङ्घको ठहर छ।”

महासङ्घले प्रेस स्वतन्त्रता संविधानद्वारा प्रत्याभूत मौलिक अधिकार भएको उल्लेख गर्दै आसन्न निर्वाचनका सबै चुनावी कार्यक्रमहरूमा पत्रकारलाई निर्बाध रूपमा समाचार सङ्कलन गर्न दिन सहभागी सबै राजनीतिक दलहरूलाई आग्रह गरेको छ।

साथै, प्रदेशभरिका सञ्चारकर्मीलाई पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै कुनै पनि दल वा उम्मेदवारको एकपक्षीय प्रचारमा संलग्न नहुन पनि महासङ्घले अनुरोध गरेको छ



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट