सुदूरपश्चिम सरकारमाथि पूर्वमन्त्री विकको प्रहार: सरकार कुम्भकर्ण शैलीमा सुत्यो
सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री लक्ष्मी विकले प्रदेश सरकारको कार्यशैलीप्रति तीव्र असन्तोष व्यक्त गर्दै गम्भीर प्रश्न उठाएकी छन्। बिहीबार बसेको प्रदेश सभा बैठकको शून्य समयमा बोल्दै उनले वर्तमान सरकारले जनताको न्यूनतम भावना समेत सम्बोधन गर्न नसकेको आरोप लगाएकी छन् ।
संसद्मा आक्रामक रूपमा प्रस्तुत भएकी विकले सरकारको सुस्त गतिलाई ‘कुम्भकर्ण’को संज्ञा दिएकी थिइन्। "प्रदेश सरकारप्रति जनताको वितृष्णा दिन प्रतिदिन बढ्दै गइरहेको छ," उनले भनिन्, "प्रदेश सभामा दर्जनौँ महत्त्वपूर्ण विधेयकहरू अलपत्र अवस्थामा छन्, तर सरकार कानमा तेल हालेर बसेको छ।"
सरकारको तीन वर्षे कार्यकाल बितिसक्दा पनि कानुन निर्माण, भौतिक पूर्वाधार, सुशासन र सामाजिक न्यायका क्षेत्रमा कुनै पनि उल्लेखनीय उपलब्धि हासिल हुन नसकेको उनले बताइन्। पर्याप्त बजेट हुँदाहुँदै पनि खर्च गर्न नसक्ने अक्षम सरकारले नागरिकलाई थप निराशातर्फ धकेलिरहेको उनको तर्क थियो।
दार्चुला लगायत हिमाली तथा पहाडी जिल्लाहरूको सडक सञ्जाल अत्यन्तै दयनीय रहेको उल्लेख गर्दै उनले तत्काल स्तरोन्नतिका लागि माग गरेकी छन् । विकास निर्माणका योजनाहरूमा भइरहेको चरम ढिलासुस्तीप्रति सरकारको ध्यानाकर्षण गराउँदै उनले काम नगर्ने ठेकेदार र निकायलाई कारबाहीको दायरामा ल्याउन माग गरेकी छन् ।
सम्बोधनकै क्रममा पूर्वमन्त्री विकले दार्चुलाको दुम्लिङमा धरानका मेयर हर्क साम्पाङको पहलमा जनश्रमदानबाट निर्माण भइरहेको झोलुङ्गे पुलको प्रशंसा गरेकी छन् । राज्यको उपस्थिति शून्य रहेको ठाउँमा जनस्तरबाट भइरहेको कामको प्रशंसा गर्दै उनले यसबाट पाठ सिक्न प्रदेश सरकारलाई सुझाव समेत दिएकी थिइन्।



तपाईको प्रतिक्रिया दिनुहोस