Techie IT
२०८३ वैशाख १६, बुधबार

सुदूरपश्चिममा कति ग्याङ सक्रिय छन् ?


सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले प्रदेशमा विगतजस्तो सङ्गठित आपराधिक समूह सक्रिय नरहेको दाबी गरेको छ। तर सर्वसाधारणले भने अझै पनि ‘अन्डरग्राउन्ड’ ग्याङहरूको त्रास कायम रहेको बताउँदै आएका छन्। प्रहरी प्रशासनले प्रदेशमा कुनै पनि संगठित अपराधी समूह सक्रिय नरहेको स्पष्ट पारे पनि भित्री अवस्था फरक रहेको दाबी स्रोतहरूले गरेका छन्।

स्रोतका अनुसार सुदूरपश्चिमका विभिन्न स्थानमा किशोर समूहसम्मको संलग्नतामा साना–ठूला ग्याङहरू सक्रिय छन्। विशेषगरी कैलाली र कञ्चनपुर जिल्लामा कारागारभित्रैबाट आपराधिक गतिविधि सञ्चालन हुने गरेको आरोप छ।

कैलालीमा नन्दु सरकार, जयन्द्र समूह, कोब्रा सरकार र इगल ग्याङजस्ता समूह चर्चामा रहेका छन्। विगतमा यी समूहले कारागारभित्रसमेत प्रभाव जमाएका थिए। हाल भने यस्ता समूहबीच सम्पर्क हुन नदिन कैदी सरुवालगायतका उपायहरूमा कडाइ गरिएको प्रहरीको भनाइ छ। अघिल्ला वर्षहरूमा कैलालीको दक्षिण–पूर्वी क्षेत्र आपराधिक गतिविधिको केन्द्रजस्तै बनेको भए पनि पछिल्लो समय त्यहाँ हिंसात्मक घटना घट्ने क्रम घटेको देखिएको छ।

त्यस्तै, पहाडी जिल्लाहरूमा राजनीतिक संरक्षण, व्यक्तिगत रिसइबी तथा स्थानीय विवादका आधारमा साना ग्याङहरू सक्रिय रहेको स्रोतको दाबी छ। कतिपय अवस्थामा विप्लव नेतृत्वको नेकपा बहुमत तथा वैज्ञानिक समाजवादी पार्टीका नाममा धम्की दिने र चन्दा असुल्ने गतिविधिसमेत हुने गरेको उल्लेख गरिएको छ।

यता, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमबहादुर विष्ट भने अपराधीहरूलाई सक्रिय हुन नदिएको दाबी गर्छन्। “अहिले त्यस्तो सक्रिय रूपमा कोही छैनन्, हामीले उनीहरूलाई सक्रिय हुन दिएका छैनौँ र दिने पनि छैनौँ,” उनले भने।

उनका अनुसार अहिले प्रहरीलाई काम गर्न विगतको तुलनामा सहज वातावरण बनेको छ। “राजनीतिक दबाब घटेको छ, कुनै नेताले अपराधी छुटाउन दबाब दिने अवस्था छैन। हामीलाई स्वतन्त्र रूपमा काम गर्न दिइएको छ,” उनले बताए। विष्टले प्रहरी अपराधीभन्दा धेरै शक्तिशाली रहेको भन्दै अपराधमा संलग्न जो–कोहीलाई नछोडिने चेतावनी दिए।

प्रहरीले अवस्था नियन्त्रणमा रहेको दाबी गरे पनि भुइँतहमा ग्याङ सञ्जाल र कारागारभित्रबाट हुने निर्देशनका कारण सर्वसाधारणमा आशंका भने कायमै छ। नयाँ कार्यशैली र कडाइका साथ प्रहरीले सङ्गठित अपराधलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याउने लक्ष्य राखेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट