Techie IT
२०८३ श्रावण २९, शुक्रबार

मुख्यमन्त्री भट्टको जनमुखि निर्णय: प्रदेशभरका अस्पतालमा डायलाइसिस सेवा विस्तार गरिने


सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले प्रदेशको स्वास्थ्य सेवा सुधारलाई उच्च प्राथमिकतामा राख्दै सर्वसाधारण नागरिकलाई सहज र गुणस्तरीय उपचार सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शुक्रवार मुख्यमन्त्रीमा नियुक्त हुनुभएका भट्टले पद तथा गोपनीयताको शपथ ग्रहणपछि कार्यभार सम्हाल्दै पहिलो मन्त्रिपरिषद् बैठकबाट स्वास्थ्य सेवा विस्तार तथा सुधारसम्बन्धी महत्त्वपूर्ण निर्णय गरेका हुन् ।

बैठकले प्रदेशभरका अस्पतालमा डायलाइसिस सेवा विस्तार गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। निर्णयानुसार सेती प्रादेशिक अस्पतालमा पाँच, महाकाली प्रादेशिक अस्पतालमा चार र टीकापुर प्रादेशिक अस्पतालमा तीन डायलाइसिस शय्या (बेड) थप गरिनेछ।

त्यस्तै, लम्कीचुहा अस्पतालमा पाँच तथा बयलपाटा र जोगबुडा अस्पतालसहित प्रदेशका सबै जिल्ला अस्पतालमा दुई–दुईवटा डायलाइसिस शय्या विस्तार गर्ने निर्णय गरिएको छ।

मन्त्रिपरिषद्को पहिलो बैठकले विभिन्न आन्दोलनका क्रममा शहादत प्राप्त गर्नुहुने सहिदहरूप्रति श्रद्धाञ्जलीसमेत व्यक्त गरेको छ। शुक्रवार नै मुख्यमन्त्री भट्टसहित मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको थियो।

बैठकमा मुख्यमन्त्री भट्टसँगै सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापा, आर्थिक मामिलामन्त्री चक्र मल्ल र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दमन भण्डारी सहभागी हुनुहुन्थ्यो।

पदभार ग्रहण गर्दै मुख्यमन्त्रीसहित मन्त्रीहरूले नागरिकमैत्री र प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकतामा राख्ने बताएका छन्। सङ्घीयताको मर्म अनुरूप प्रदेश संरचनालाई प्रभावकारी बनाउँदै सुशासन, पारदर्शिता र नागरिकको सहज पहुँचमा केन्द्रित भएर काम गर्ने उनीहरूको प्रतिबद्धता छ।

नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकबाटै स्वास्थ्य क्षेत्रमा सुधार र डायलाइसिस सेवा विस्तारको निर्णय भएपछि सुदूरपश्चिमका मिर्गौला रोगी तथा नियमित डायलाइसिस आवश्यक पर्ने बिरामीहरूले उपचारका लागि टाढा जानुपर्ने बाध्यता केही हदसम्म हट्ने अपेक्षा गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट