सुदूरपश्चिममा ७ लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बिमाको दायरामा
स्वास्थ्य बिमाप्रति नागरिकहरूको आकर्षण बढ्दै गएसँगै सुदूरपश्चिम प्रदेशमा बिमा प्रणालीमा आबद्ध हुनेहरूको सङ्ख्या ७ लाख ३२ हजार नाघेको छ। स्वास्थ्य बिमा बोर्ड सुदूरपश्चिम कार्यालयका अनुसार गत भदौ मसान्तसम्म यस प्रदेशका कुल ७ लाख ३२ हजार ७५२ जना नागरिक स्वास्थ्य बिमाको दायरामा समेटिएका छन्।
बोर्डका सुदूरपश्चिम संयोजक जनकबहादुर साउदका अनुसार जिल्लागत रूपमा सबैभन्दा बढी कैलालीमा ३ लाख ६१ हजार ९७९ र सबैभन्दा कम दार्चुलामा २३ हजार २०३ लाभग्राही रहेका छन्। अन्य जिल्लाहरूमा कञ्चनपुरमा ८७ हजार ८७, अछाममा ६७ हजार ३०८, बझाङमा ५२ हजार २११, बाजुरामा ४५ हजार ४५४, बैतडीमा ३४ हजार २७०, डडेलधुरामा ३३ हजार ३७८ र डोटीमा २७ हजार ८६२ नागरिक बिमामा आबद्ध भएका छन्।
नेपालको संविधानको धारा ३५ र ५१ (ज) ले सुनिश्चित गरेको आधारभूत स्वास्थ्य सेवा तथा सामाजिक सुरक्षाको हक कार्यान्वयन गर्ने उद्देश्यले विसं २०७२ चैत २५ गतेदेखि यो कार्यक्रम सुरु गरिएको हो। स्वास्थ्य बिमा ऐन, २०७४ तथा नियमावली, २०७५ अनुसार सञ्चालित यो योजनाले आर्थिक रूपमा कमजोर परिवारलाई उपचार खर्चको ठूलो जोखिमबाट राहत प्रदान गर्दै आएको छ।
बिमाका प्रमुख प्रावधान तथा सुविधाहरू:
योगदान रकम: ५ जनासम्मको परिवारका लागि वार्षिक रु ३,५०० र त्यसभन्दा बढी सदस्य भएमा थप प्रतिसदस्य रु ७०० योगदान शुल्क लाग्ने व्यवस्था छ।
उपचार सुविधा: बिमा गरेका परिवारले वार्षिक रु १ लाखसम्म र ५ जनाभन्दा बढी सदस्य भएमा प्रतिसदस्य रु २० हजार थप गरी अधिकतम रु २ लाखसम्मको उपचार सेवा प्राप्त गर्न सक्नेछन्।
निःशुल्क सेवा: ७० वर्ष नाघेका ज्येष्ठ नागरिक, अति विपन्न, अपाङ्गता भएका व्यक्ति, तथा कुष्ठरोग, एचआइभी र एमडीआर–टिबीका बिरामीहरूको प्रिमियम सरकारले नै व्यहोर्ने गरेको छ। त्यस्तै, सङ्गठित क्षेत्रका नागरिकका लागि आम्दानीको १ प्रतिशत योगदान गरी अनिवार्य आबद्ध हुने व्यवस्था गरिएको छ।
लाभग्राहीहरूले तोकिएका सरकारी अस्पतालमार्फत ओपिडी, आपतकालीन सेवा, ल्याब परीक्षण र सामान्य शल्यक्रिया लगायतका सेवाहरू सहज रूपमा लिइरहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस